पछिल्लो समयमा पोखरा–५ मालेपाटनमा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पोखराकै एक सहकारीमा काम गर्ने महिलाको एकाघरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछी मालेपाटनमा समुदायमा कोरोना संक्रमण फैलिएको अनुमान गरिएको हो।
साउन २४ गते सहकारीमा काम गर्ने एक महिलाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछी उनका अन्य परिबारका सदस्यको पनि स्वाब परीक्षण गरिएको थियो। त्यति बेला ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बिहीबार सोही परिवारका ११ वर्ष र १४ वर्षका दुई बाबुनानीमा कोरोना संक्रमण पुष्टि भएको पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए। यसरी संक्रमित हुनेमा तीन दाजु भाइका १३ जना सदस्यहरु रहेका र सबैभन्दा वृद्ध ८१ वर्षका पुरुष छन्।
पहिलो कोरोना संक्रमण भएकी सहकारीमा कार्यरत महिलालाई ज्वरोआएपछि स्वाब परीक्षण गरिएको थियो। उनमा कोरोना संक्रमण पृष्टि भएपछि परिवारका अरु सदस्यको पनि स्वाब टेष्ट गरिदा १३ जनामा पनि कोरोना संक्रमण देखिएको हो।