अछामको रामारोशन गाउँपालिका– ५ मा कैलाश खोलाको बाढीले स्थानीय सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् ।
गाउँपालिका अध्यक्ष झंकर साउदका अनुसार नन्दु साउदको परिवारका १० जना सम्पर्कविहीन छन्. । त्यस्तै बारलाका ४० बर्षका लालसरा शाह र उनका १० वर्षका छोरा पनि बेपत्ता भएका छन् । हिक्मत शाहको २ जनाको परिवार, चन्दे साउद, बासु साउद र जोगा साउद पनि बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा एक महिला र एक पुरुष गरी दुई जनाको शव भेटिएको छ।
यस्तै एक महिला र एक पुरुष गरी दुई जनाको शव दर्नास्थित कैलाश खोलाको किनारमा भेटिएको छ भने अर्का एक व्यक्तिको शव मंगलसेन नगरपालिका–१० जुपुस्थीत कैलाश खोला किनारमा भेटिएको हो।
यस्तै एक जनाको शव मंगलसेन ३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको डीएसपी थापाले जानकारी दिए।
बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । बाढीले दर्नाको पक्की पुलसमेत बगाएको छ । बाढीले खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।
कैलाश खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बताएको छ । हराइरहेकाहरुको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर अछाम पुगिसकेको छ ।सेनाको हेलिकप्टरमा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको छ ।