गाईको घ्यु भन्दै उपभोक्तालाई झुक्याएर वनस्पति घ्यु बिक्री वितरण गर्दै आएका एक युवालाई उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालया पोखराले ‘अब आइन्दा त्यस्तो कार्य नगर्ने’ गरी कागज गरेर छाडेको छ भने गाईको घ्यु भन्दै बिक्री गर्न तयारी अवस्थामा राखिएको २० कार्टुन घीउ नष्ट गरेको छ ।
निर्देशनालयले कास्कीको अन्नपूर्ण गाउँपालिका घर भई पोखरा–४, गणेशटोल डेरा गरी बस्ने युवालाई ‘अब आइन्दा त्यस्तो कार्य नगर्ने’ गरी कागज गरेर छाडेको हो।
ती युवाले उत्पादन गरेको भनिएको ‘कुशल’ घीउ को बट्टामा लेखिएको स्टिकरमा घ्युको तौल पांच सय ग्राम लेखिएको भएपनि घ्यु भने तीन सय ८५ ग्राममात्र भेटिएको बजार अनुगमन समितिका एक सदस्यले जानकारी दिए। उनले पाँचसय ग्रामको घ्युको तीनसय ८० रुपियाँ लिंदै आएका थिए।
ती युवकले घीउजस्तो देखिने कच्चा पदार्थ प्रतिकेजी एक सय ३५ रुपैयाँमा खरिद गरी प्रतिकेजी सात सय ६० रुपैयाँमा बिक्री गर्ने गरेको तथ्य बजार अनुगमन समितिले भेट्टाएको छ। उनले उक्त नक्कली घीउ म्याग्दी, लमजुङ, तनहुँ लगायत जिल्लामा लगेर बिक्री गर्ने गरेको जानकारी उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका निर्देशक गोकुल शर्माले दिए ।
त्यति मात्र हैन ती युवाले उत्पादन गीको भनिएको घ्युको बट्टामा दिएको ठेगाना र सम्पर्क नम्बर पनि गलत देखिएको छ। उनले पोखराको गणेशटोलमा संचालन गरेको उद्योग दर्ता समेत नभएको भेट्टाएको बजार अनुगमन टोलीले घ्यु उत्पादन गर्ने कच्चा पदार्थ र लेवल मेसिन समेत बरामद गरेको छ । उनले प्याक गर्ने, लेबल टाँस्ने र बजारमा बिक्री गर्ने गरेको तथ्य फेला पारेको थियो ।
आइतबार निर्देशनालयको कार्यालयमा घीउ नष्ट गरी ती व्यक्तिलाई अबको दिनमा यस्तो गल्ती नगर्ने भन्दै कागज गरी तारेखमा छाडिएको जानकारी निर्देशक शर्माले दिए । घीउ नष्ट गर्न निर्देशनालयका निर्देशक गोकुल शर्मा, उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका डिभिजन प्रमुख प्रशान्त पोखरेल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिव पौडेल, नापतौल कार्यालय पोखरका प्रतिनिधि तथा संचारकर्मीको रोहवरमा घीउ नष्ट गरिएको हो ।