अनलाइन ठगी तथा नक्कली मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अफ्रिकन मुलुक अंगोलाका ४८ वर्षीय नागरिक सिल्भा एन्टोनियो डी कोस्टा रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ठमेलबाट पक्राउ गरेको हो ।
उनको साथबाट तीन लाख १७ हजार ७ सय ४५ नेपाली रुपैयाँ, ९ सय अमेरिकन डलर, विभिन्न एटीएम कार्ड, एक हजार दरका तीन थान नक्कली नोट, विभिन्न देशका मुद्राहरु, नोट आकारको कालो कागजको बण्डल, विभिन्न केमिकल, पाउडर समेत फेला परेको प्रहरीले जनाएको छ ।
अभियुक्त सिल्भा एन्टोनियो डी कोस्टामाथि एक नेपाली महिलालाई बिहेको प्रलोभन देखाउँदै ४८ लाखभन्दा बढी रकम ठगेको आरोप छ । महाशाखाका अनुसार मार्की आरोन नामबाट इन्स्टाग्राममार्फत एकजना विदेशीले एक नेपाली युवतीसँग चिनजान गरेका थिए । चिनजानका क्रममा उनले आफू लन्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर भएको र नेपाल आएर विवाह गर्ने प्रस्ताव गरेका थिए । विवाहको विश्वास दिलाएपछि विभिन्न व्यक्तिहरुको नामबाट कुराकानी गरी नयाँ बर्षको अवसरमा हिराको औठी, घडी, सुनको सिक्री र दुई लाख ३० हजार पाउण्डसमेत पठाएको छु भन्दै सामानको पार्सलको फोटो समेत पठाएका थिए ।
सामान पठाए पनि सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउनको लागि रकम आवश्यक परेको भन्दै ती युवतीबाट ४८ लाख ५४ हजार २ सय २० रुपैयाँ पठाउन लगाएको खुलेको छ ।
सोही समूहको कनेक्सन सिल्भा एन्टोनियो डा कोस्टासँग पाइएपछि उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार सिल्भा एन्टोनियो डा कोस्टाले भन्सारबाट सामान छुटाउनका लागि भन्दै २० लाख रकमसहित नयाँ बानेश्वरको एक होटलमा बोलाएका थिए । नयाँ बानेश्वर होटलमा बोलाएपछि फेरि उनले सोल्टीमोडस्थित एक होटलमा बोलाएका थिए । सोही क्रममा उनलाई महाशाखाको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सिल्भा एन्टोनियो डा कोस्टा नक्कली नोट बनाउने गरेको देखिएको महाशाखाले जनाएको छ । उनको साथबाट नक्कली नोट बनाउन प्रयोग हुन केमिकल तथा कागज समेत बरामद गरिएको छ ।
उनी ०७६ फागुन २४ गते नेपाल आएको देखिएको छ । उनको साथबाट तीन लाख १५ हजार ७४५ नेपाली रुपैयाँ, अमेरिकन डलर ९ सय, नक्कलीजस्तो देखिने नेपाली रुपैयाँ एक हजारका नोट तीन थानलगायतका सामग्री बरामद भएको महाशाखाले जनाएको छ ।