कमल पौडेल अथक/
सरकारले जारी गरेको कोरोना मापदण्ड निर्देशिका पालना नगर्दा पछिल्लो समय पोखराका रक्सीभट्टी र होटल रेष्टूरेण्टहरु कोरोना संक्रमण फैलाउने अखडाका रुपमा परिणत हुँदै गएका छन् ।
टोल-टोल र गल्ली गल्लीहरुमा रहेका यस्ता रक्सीभट्टी र होटल रेष्टूरेण्टहरु कोरोना संक्रमण फैलाउने अखडा बनिरहदा पनि स्थानीय प्रशासनको ध्यान गएको छैन। यस्ता रक्सीभट्टी र होटल रेष्टूरेण्टहरु, जहाँ न त व्यवसायीले ध्यान दिएका छन् , न त ग्राहकले नै सावधानी अपनाएका छन् नै।
पछिल्लो पटक सरकारले जारी गरेको लकडाउन निर्देशिकामा होटल तथा रेष्टूरेण्टलाई खाजा र खाना बनाउन मात्र पाइने भनेको छ । होटलमा बनाएको खाजा तथा खाना किनेर अन्यत्रै लगेर मात्र खान पाइन्छ । तर यहाँका अधिकांश होटल तथा रक्सी भट्टीहरुले त्यसलाई अटेरी गरेका छन् । यो अटेरीका कारण कोरोनाको संक्रमण फैलिने खतरा बढ्दै गएको छ । रेष्टूरेण्ट तथा भट्टीमा पुग्ने व्यक्तिलाई मात्र नभएर उसको घरमा बसिरहेका सुरक्षीत एवं निर्दोष परिवारलाई समेत जोखिम बढेको नागरिकहरुले वताएका छन् ।
पोखराको पामे, हेम्जा, बेगनास, लगायत वजारका बिभिन्न स्थानमा सञ्चालित अधिकांश रक्सी भट्टी र रेष्टूरेण्टहरुमा साँझ पख ग्राहकको भीड भाड बढ्दै गएको छ । कतिपय आफूलाई समाजमा जान्ने वुझ्ने र बुझाउने नागरिक हौं भन्नेहरु नै यस्ता भट्टी पसलमा छिर्ने गरेको पाइएको छ । यस्ता भट्टी, होटल रेष्टूरेण्टको छेऊ छाउमा घर हुने नागरिकहरु कतिवेला कोरोना सल्कने हो भन्ने त्रासमा रहेको वताएका छन् ।
गत चैत्र ११ देखि सुरु भएको लकडाउन १२० दिनमा खुले सँगै पोखराका केही रक्सी भट्टी र होटल रेष्टूरेण्टहरुले व्यापार गर्ने अवसरको रुपमा लिएका छन् । जथाभावि मानिस वटुलेर उनीहरुले आफ्नो व्यवसाय संञ्चालन गरेका छन् । ग्राहकहरु पनि सामान्य सुरक्षा विना नै भट्टीमा पसेर रक्सी माछा मासु खाने गर्दै आएका छन् ।
कास्कीका प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले पोखरामा कोरोना वारे लापरवाही गर्नेलाई निगरानी वढाइएको दाबी गरे । उनले शुक्रवारदेखि नै होटल तथा रेष्टूरेण्टमा निगरानीका लागि टोली परिचालन गरि सकेको जानकारी दिए ।
यता जिल्ला प्रसाशन कार्यालय कास्कीले विहीवार एक सूचना जारी गरी होटल तथा रेष्टूरेण्टलाई खाजा तथा खाना पकाएर विक्री मात्र गर्न भनेको छ । प्रसाशनका अनुसार संवन्धित होटल रेष्टू्रेण्टले पकाएको खाना तथा खाजा सोही स्थानमा वसेर खान पाइने छैन । तर कास्कीका अधिकांश होटल संञ्चालक र स्वंय ग्राहकहरुले प्रसाशनको आग्रह व्यापक उलंङ्घन गरेका छन् ।
हामीले होटल तथा रेष्टूरेण्टलाई टेक वै सिस्टममा जान भनिसकेका छौं– कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले भने । यदि कसैले प्रसाशनको आग्रहलाई अटेरी गरेमा संक्रामक रोग ऐन २०२० अनुसार संवन्धित व्यक्ति वा संञ्चालकलाई १ महिना कैद वा १ सय रुपैयाँ जरिवाना वा दुवै सजायँ हुने व्यवस्था रहेको वताए । हामीले आग्रह गर्ने हो, आग्रहलाई कसैले अटेरी गर्छ भने कानुनले छुट दिँदैन, मापदण्ड पालना नगर्नेलाई हामी तत्काल कारवाही गर्न बाध्य हुनेछौ,– प्रजिअ ढकालले भने ।