सत्तारुढ नेकपामा जारी विवाद समाधानका लागि पार्टी महासचिब बिष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा कार्यदल बनाइएको हो । कार्यदलमा शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् ।
संवाद टुटेको ९ दिनपछि बिहीबार ओली र दाहालबीच सकारात्मक छलफल भएको थियो । साेही दिन कार्यदल बनाउन सहमत भएका उनीहरुले शुक्रबार भएको छलफलमा कार्यदलमा रहने व्यक्ति र कामबारे सहमति जुटाएर कार्यदल बनाएका हुन् ।
ओली, प्रचण्ड र माधव नेपाल समूहका दुईदुई जना रहेको कार्यदललाई कुनै समय सीमा तोकिएको छैन । तर कार्यदलले चाँडोभन्दा चाँडो पार्टीभित्रका समस्या समाधानका लागि एकीकृत सुझाव दिने महासचिव पौडेलले बताए ।
कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा कुन विषयमा कसरी सहमति गर्ने भनेर लिखित रुपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ । त्यसआधारमा दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्नेछन् । त्यसपछि मात्र स्थगित स्थायी कमिटी बैठक सुचारु हुने सत्तारुढ नेकपा स्रोतले जनाएको छ ।
कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । पहिलो अध्यक्ष ओली नै रहने तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन गर्ने तयारी छ । यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने र मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने गरी कार्यदलले सहमतिको मस्यौदा बनाउनेछ । त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलले काम गर्नेछ ।
कार्यदलले काम सकेपछि स्थायी कमिटी बैठक बसाउने र त्यहाँबाट निर्णय गर्ने ओली र दाहालको तयारी छ । दुई अध्यक्षबीचको संवादअघि महासचिव पौडेल, स्थायी कमिटी सदस्य पोखरेल र शर्माले सहमतिका लागि गृहकार्य गर्न शीर्ष नेतासँग लगातार भेट गरेका थिए ।
कार्यदल रहेकामध्ये महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्माले ओली र प्रचण्डबीच यसअघि त्यस्तै सहमति गराउने प्रयास गरेका थिए । त्यसअनुसार मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव सचिवालय बैठकमा राखेर नेताहरु राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । तर ओलीले जनताको बहुदलीय जनवाद (जबज) मान्नुपर्ने शर्त राखेपछि प्रचण्ड सहमत भएनन् ।