अविरल वार्शाकारण आएको पहिरोले घर पुरिंदा कालिकोटमा छ जना बालबालिकाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् ।
प्राप्त समाचार अनुसार, कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति गएको पहिरोले वडा सदस्य राज बहादुर विष्टको घर पुरिंदा वडा सदस्य विष्टका चार र उनका दाजुका दुई सन्तानको ज्यान गएको छ। रातको १२ बजेतीर पहिरो घरको छानो भत्काउँदै छिरेको थियो। सोही पहिरोले सुतिरहेको अवस्थामा पुर्दा उनीहरूलाई पुरेको हो।
यसै गरी अविरल वर्षापछि आएको पहिरोले शुक्रबार बिहान साढे ६ बजेतिर जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो ।
पहिरोमा केही स्थानीय पुरिएको अनुमान गरिए पनि संख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ ।गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारी दिए । उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए । बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन । ‘पहिराेबाट १५ जना भने बाहिर निस्केका छन्,’ उनले भने, ‘उनीहरुलाई नजिकै सुरक्षित स्थानमा राखिएको छ ।’
गएको असार २६ गते गएको पहिरोले जुगल–२ सानुमाम्फा र लिदीको बस्ती उच्च जोखिममा परेको थियो । त्यसलगत्तै प्रशासन, गाउँपालिकादेखि जनप्रतिनिधिसम्मलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले अन्यत्र सुरक्षित स्थानमा लैजान आग्रह गरेका थिए। अन्यत्र जान सम्भव नभएपछि लिदीका १ सय ७० घरधुरी त्रासमा बसिरहेका थिए ।