जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी अन्तत: कारागार चलान भएका छन्। जिल्ला अदालत कास्कीले उनलाई पुर्पक्षमा रहने गरी अनुसन्धान गर्न आदेश दिएपछि एसएसपी अधिकारी जिल्ला कारागार शाखा कास्की चलान भएका हुन्।
सशस्त्र प्रहरी हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुखसमेत रहेका एसएसपी अधिकारीले चितवन घर भएकी अन्दाजी २७ वर्षकी युवतीलाई आफ्नो क्वार्टरमा खाना खान बाेलाएर गएको असार ३१ गते जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ। जबरजस्ती करणी गरेपश्चात पिडित युवतीले प्रहरीलाई खबर गरेको थाहा पाएर कार्यालय परिसरभित्रै रहेको झाडीमा लुकिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय कास्कीले आवस्यक अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालयमार्फत आज जिल्ला अदालत कास्कीमा पेश गरेकोमा अदालतले एसएसपी अधिकारीलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीले अधिकतम १५ वर्षको सजाय माग गर्दै शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा कागजात पेस गरेकोमा अधिकतम २१ वर्षको कैद सजाय माग गर्दै आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।