बिद्रोही ने.क.पा. समर्थित अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य प्रकाश बास्तोलासहित दुई जनालाई प्रहरीले आज दिउँसो पोखराबाट पक्राउ गरेको छ।
पार्टीको जिल्ला कमिटि सदस्य समेत रहेका बास्तोला र तीर्थ बुढाथोकी नाम गरेका अर्का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको समाचारश्रोतले जानकारी दिएको छ।
उनीहरुलाई पोखराको महेन्द्रपुलस्थित मेडिकल लाइनमा रहेको ओम नर्सिङ्ग होमबाट पक्राउ गरिएको बताइएको छ।
यसैबीच, बिद्रोही ने.क.पा. समर्थित जनपत्रकार संगठनका केन्द्रिय सदस्य एबम कास्की जिल्ला अध्यक्ष रमाकान्त बास्तोला ‘रमेश’ले आज दिउसो नै आफ्नो फेसबुक स्टाटसमार्फत ‘विद्यार्थीका केन्द्रीय सदस्य एबम जनयुद्धकालीन शहीद विजयराज बास्तोलाका पुत्र प्रकाश बास्तोलालाई उपचारका क्रममा अस्पताल गएको बेला प्रहरीले गिरफ्तार गरेको ‘ जानकारी दिएका छन्।
गतवर्ष जेठ २५ गते कास्कीको घान्द्रुकमा आयोजित बिद्यार्थीहरुको संयुक्त भेलाबाट २० जना नेता तथा कार्यकर्ताहरु गिरफ्तार हुँदा बास्तोला पनि गिरफ्तार भएका थिए। उनलाई पछी उच्च अदालत पोखराले निर्दोष भन्दै रिहा गर्न आदेश दिएपछि प्रहरीले बाध्य भएर रिहा गरेको थियो।