कारबाहीबाट बच्न राती गाउँपालिका कार्यालयमा गएर कागजपत्र मिलाउदै गरेका लेखापाल र उनका अन्य तीन जना आफन्तलाई प्रहरीले पक्राउ गरेको छ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगीसमेत रहेका उनका भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन केसीलाई प्रहरीले बिहीबार राति ९ बजे गाउँपालिकाका कार्यालयबाटै पक्राउ गरेको हो। स्थानीय जनताले बाहिरबाट ताला लगाई कार्यालयभित्र कागजात मिलाउँदै गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्राप्त समाचार अनुसार, आर्थिक वर्ष २०७६/०७७ को २४ लाख ९२ हजार तीन सय ७२ रुपैयाँ लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासले अनधिकृत रूपमा आफ्नै खातामा राखेका थिए र विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि यस बारेमा गाउँपालिका कार्यालयले आबश्यक छानबिन पनि शुरु गरेको थियो। त्यस पछि उनीहरुले आफ्नो व्यक्तिगत खातामा जम्मा भएको सरकारी रकम झिकेर फेरी गाउँपालिकाको कार्यालयको खातामा जम्मा गरिदिएका थिए। तर त्यसै बारेमा जिल्ला प्रशासनले कार्यालय रुकुम पश्चिमले छानबिन शुरु गरेपछि उनीहरु आत्तिएर रातारात गाउँपालिका कार्यालयमा बसी कागजपत्र मिलाउने कार्यमा संलग्न रहेको बताइएको छ।
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले कार्यालय समय १० देखि ५ बजेसम्म भए पनि उनीहरू राति कार्यालय जानुको कारण खोजी भइरहेको बताए । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखिएको पनि उनले जानकारी दिए।