नेपाल–भारत सीमा विवाद बढिरहेको समयमा चीनले लिपुलेक नजिकैको सीमावर्ती क्षेत्रमा सैन्य गतिविधि बढाएको छ ।
चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए) को एउटा बटालियनलाई लिपुलेक नजिकै तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
भारतीय शीर्ष सैन्य कमाण्डरलाई उद्धृत गर्दै केही भारतीय अखबारका अनलाइन संस्करणले शनिबार यसबारे समाचार प्रकाशित गरेका छन् ।
पछिल्लो समय नेपालले कालापानी नजिकै सशस्त्र प्रहरी बल तैनाथ गर्न थालेको र चीनले पनि लिपुलेक नजिकै एक हजारको हाराहारीमा सैनिक तैनाथ गरेको अवस्थालाई भारतीय मिडियाले आशंकाको नजरले व्याख्या गरेका छन् ।
चीनको सो भूमिकालाई भारतीय मिडियाले आशंकाका दृष्टिले हेरेका छन् । भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरलाई जोड्ने सडक निर्माण गरेपछि सो क्षेत्र चर्चाको केन्द्रमा आएको हो । नेपालको गम्भीर आपत्तिका बाबजुद भारतले सडक निर्माण गरी उद्घाटनसमेत गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको हो ।
यसअघि भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेपछि नेपालले आपत्ति जनाएको थियो ।
सीमा समस्या समाधानका लागि वार्तामा बस्न लगातार नेपालले जोड दिँदै आए पनि भारतले कोरोना संकट समाधान भएपछिमात्र वार्तामा बस्ने जवाफ दिएको थियो । तर त्यसबीचमै भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि भने नेपालले पनि आफ्नो प्रशासनिक र राजनीतिक नक्सा संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा समेटेपछि नेपाल–भारत सीमा विवादले दुई देशबीच कुटनीतिक सम्वादहीनताको अवस्था सिर्जना गरेको छ ।
उल्लेखनीय छ, भारत र चीनबीच करिब तीन महिनादेखि लद्दाख क्षेत्रमा सैन्य तनाव जारी छ । गत जुन १५ मा सीमा क्षेत्रमा दुई देशका सेनाबीच हिंस्रक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । पछिल्लो समय दुई देशबीच भएको कयौं चरणको वार्तापछि उक्त क्षेत्रबाट दुवै मुलुकका सेना पछाडि हटेको भनिए पनि अवस्था सामान्य भइसकेको छैन ।