१५ किलो पहेँलो धातु प्रकरणमा मुछिएपछि दरबारमार्ग प्रहरी वृत्तका डीएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए

१५ किलो पहेँलो धातु प्रकरणमा मुछिएपछि दरबारमार्ग प्रहरी वृत्तका डीएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ साउन २०७७
  • 5.5K
    Shares

डीएसपी रञ्जन दाहाल

१५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । डीएसपी दाहाललाई छानविनका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ ।

उनीमाथि दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ । दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ ।

यही साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको जनाएको थियो । सेतो रंगको कपडाको झोला फ्याँकेर एक गाडी फरार भएको र सो झोलामा १५ किलो पहेँलो धातु भेटिएको प्रहरीको भनाइ थियो । यद्यपि प्रहरीले कसैलाई पनि पक्राउ गर्न भने सकेको थिएन ।

तर सो घटना अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेको थियो । प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिएको छ ।

प्रकरणको छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको थियो  ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरेर कमलादीस्थित नबिल बैंक अगाडि सेतो रंगको कपडाको झोला फ्याँकेर बा ६ च ५५१९ नम्बरको स्कर्पियो गाडी फरार भएको उल्लेख गरेका थिए । तर, छानविन समितिले हेरेको त्यसक्षेत्रको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा त्यहाँ प्रहरीले बताएअनुसारको घटनाक्रम देखिएको छैन । न त त्यसक्षेत्रका सर्वसाधारणलाई घटनाबारे जानकारी छ । बरु केहीसँग लिइएको बयानबाट घटनास्थल सुन्धारा हुनसक्ने देखिएको छ ।

सुन्धारा दरबारमार्ग प्रहरीको क्षेत्राधिकारभित्र पर्दैन । डीएसपी दाहालले सुन्धारा पुगेर अपरेशन गर्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी ज्ञवालीलाई त्यसबारे जानकारी दिएको नपाइएको स्रोतले बतायो ।

गाडीबाट फ्याँकिएको झोलामा १५ किलो सुन जस्तो देखिने धातु बरामद भएको ज्ञवालीको भनाइ थियो । बरामद धातु परीक्षणपछि साढे १४ किलो चाँदी र आधा किलो मात्र सुन भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार