अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्ने तयारी गरिरहेको नेपाली सेनाले छसय वटा इन्सास राइफल सशस्त्र प्रहरी बललाई दिएको छ । माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो ।
नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई ती हतियार हस्ताक्षरण गरेका छन् ।
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार सशस्त्र प्रहरीलाई दिइएको जानकारी दिए। हाल सशस्त्र प्रहरीसँग ७.६२ एमएमको एसएलआर हतियार थियो ।
सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ । त्यसअघि हतियार मर्मतबारे नेपाली सेनाले १५ दिने तालिम पनि सशस्त्र प्रहरीलाई दिनेछ ।
सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने विषयमा असार १५ गते मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।
