जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुखसहित १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । एसपी विमलराज कँडेलसहित १८ प्रहरीमा सोमबार कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले पुष्टि गरे ।
कार्यालय प्रमुखसहित २१ प्रहरीमा कोरोना देखिएपछि पुतलीबजारभित्र कडाई गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनले पहिलो चरणमा प्रहरी प्रमुखदेखि जवानसम्मको स्वाब लिइएको र सम्पर्कमा आएकाको खोजी थालिएको बताए ।
साउन ६ गते दुई हवल्दार र एकजना सिपाहीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सिल गरी कार्यालयमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो । दुईपटक गरेर एसपीसहित एकसय जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइएको थियो । त्यसमध्ये १७ पुरुष र एक महिलामा सोमबार पोजेटिभ देखिएको हो । परीक्षणका लागि पोखरा ल्याइएका स्वाबमध्ये ६० जनाको रिपोर्ट आउन बाँकी छ ।
संक्रमित प्रहरी अधिकारीलाई कालिका सामुदायिक अस्पताल र क्वारेनडाँडा आइसोलेसनमा व्यवस्थापन गरिने प्रमुख शर्माले जानकारी दिए ।
स्याङ्जामा सोमबार प्रहरीबाहेक अरुमा कोरोना पुष्टि भएको छैन ।योसहित जिल्लाभर संक्रमितको संख्या दुई सय २३ पुगेको छ । संक्रमितमध्ये एकसय ८८ जना निको भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको छ ।
यसैबीच प्राप्त जानकारी अनुसार, गण्डकी प्रदेशमा कोरोना भाइरसका २२ संक्रमित थपिएका छन् । कास्कीको रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिका १-१ जना पुरुषसहित स्याङ्जा र लमजुङमा गरी २२ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । लमजुङको मध्यनेपाल नगरापालिका र दुधपोखरी गाउँपालिकाका १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ ।