कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको भयकाकारण बिगत पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान भदौ १ गतेबाट सुरु हुने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
कोभिड-१९ को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।
जेठ २६ बाट सरकारले लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा सुचारू भएको थिएन । पछिल्लो समय विदेशबाट नेपाल फर्किने नागरिकहरूका लागि चार्टर फ्लाइटहरू भने भइरहेको छ ।
अब अन्तराष्ट्रिय अभ्यास र विदेशमा भएका नेपालीहरूलाई आउन दिन पनि हवाई सेवा सुचारू गर्ने निर्णय भएको मन्त्री भट्टराईले बताए त्यसका लागि हवाई उडानसम्बन्धी प्रोटेकल मन्त्रालयले बनाउनेछ ।
स्रोतका अनुसार हवाई उडान सुरु गर्नुअघि होटल व्यवसाय पनि सञ्चालन गर्न दिने सरकारको तयारी छ ।
वायुसेवा पुनः सञ्चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा कोभिड-१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।
यसैबीच,त्यही मन्त्रिपरिषद्को बैठकले प्रशासकीय अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यक्षमा घिमिरेसँगै रिक्त रहेका दुई सदस्यको पनि पदपूर्ति गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रशासकीय अदालतको सदस्यमा रीता मैनाली र कृष्णप्रसाद पौडेललाई नियुक्त गरिएको ती मन्त्रीले जानकारी दिए । पौडेल उच्च अदालत पोखराको रजिष्ट्रार हुन् ।
अध्यक्षमा नियुक्त घिमिरेले भने जेठ १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनिवार्य अवकास पाएका थिए ।
प्रशासकीय अदालत ऐन, २०७६ अनुसार अध्यक्ष र सदस्यको पदावधि ५ वर्षको हुनेछ ।