पार्टीभित्रका जुझारु एबम आफ्ना विश्वासिला पात्र रहेका नेता ओमप्रकाश पुन “निर्माण” गिरफ्तार भएपछी आक्रोशित बनेका बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाही सञ्चालन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई विशेष निर्देशन दिएका छन् ।
पार्टी महासचिव बिप्लबले बिहीबार एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई यस्तो बिशेष निर्देशन दिएका हुन्। अद्यापि बिद्रोही ने.क.पा.ले यस अघि कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म प्रतिरोधात्मक कारबाही स्थगन गरेको घोषणा गरेको थियो ।
सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन “निर्माण”, पार्टी सेती–महाकाली ब्युरो सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) कि केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्युरो सदस्य नन्द बहादुर बोहरा “जोखिम”लाई गिरफ्तार गरेपछि बिद्रोही ने.क.पा. आक्रोशित बनेको विप्लबद्वारा जारी विज्ञप्तिले संकेत गरेको छ ।
सरकारले विभिन्न सम्पर्कस्रोतमार्फत पटकपटक भेटघाट र छलफल गर्दै फेरि गिरफ्तार गर्ने कार्य जारी राखेपछि आक्रोश व्यक्त गर्दै महासचिव विप्लवले आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् ।
महासचिव विप्लवले विज्ञप्ति जारी गरी पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पार्टी पङ्क्तिलाई निर्देशन पनि दिएका छन् । नेकपाले कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म प्रतिरोधात्मक कारबाही स्थगन गरेको थियो ।
एकातिर सरकारले वार्ता र भेटघाटका लागि विभिन्न माध्यमबाट सम्पर्क गर्ने गरेको खुलासा गर्दै बिद्रोही ने.क.पा. महासचिब बिप्लबले राष्ट्रको स्वाधीतना र जनताको अधिकारका लागि लडिरहेको आफ्नो पार्टीमाथि गरिएको दमनको भर्त्सना गरेका छन् भने यसतर्फ बिशेष ध्यान दिन विप्लबले मानवअधिकारवादी, कानुनविद् र बुद्धिजीवीहरूलाई आग्रह पनि गरेका छन् ।
महासचिव विप्लवद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ ।’
नेकपाका नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो । बिरामी भेट्न आफन्तकोमा पुगेको बेला प्रहरीले उनीहरूलाई लखेटीलखेटी गिरफ्तार गरेको बताइएको छ । विज्ञप्तिको पूर्णपाठ….

नेता ओमप्रकाश पुन गिरफ्तार भएपछी आक्रोशित बनेका बिद्रोही ने.क.पा. महासचिब विप्लबद्वारा जारी बिज्ञप्ति
यसैबीच, सरकारले नेकपाका नेता ओमप्रकाश पुनलाई गिरफ्तार गरेपछि उक्त पार्टीको सेती–महाकाली ब्युरोले साउन ६ गते सेती–महाकाली बन्दको कार्यक्रमसहित सङ्घर्ष घोषणा गरेको छ ।
नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले जारी गरेको विज्ञप्तिअनुसार घोषित सङ्घर्षका कार्यक्रमहरूमा साउन ३ गते प्रचारप्रसार, ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सेती–महाकाली बन्द र ६ देखि ८ गतेसम्म सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउने रहेका छन् ।
सेती–महाकालीमा केन्द्रीय सदस्यहरू ओमप्रकाश पुन तथा चूडामणि ओलीसहित दुई दर्जनभन्दा बढी नेता–कार्यकर्तालाई विभिन्न जिल्लाका हिरासत तथा कारागारहरूमा बन्दी बनाएको भन्दै सङ्घर्ष घोषणा गर्नुपरेको ने.क.पा.ले जनाएको छ ।
नेकपाको सेती–महाकाली ब्युरो कार्यालयको विज्ञप्तिमा आफ्नो पार्टीले नचाहँदानचाहँदै पनि सरकारी रबैयाका कारण सङ्घर्ष घोषणा गर्नुपरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक जनता, उद्योगी–व्यवसायीहरूले सरकारबाट गरिएको राहतको अपेक्षालाई बेवास्ता गरेपछि बढ्दै गएको जनअसन्तुष्टि र विरोध तथा आफ्नो पार्टीभित्रको गुटगत अन्तरविरोधको आक्रोशबाट अन्धो बनेको वली सरकार पतन उन्मुख दलाल पुँजीवादी व्यवस्था र आफ्नो कुर्सी जोगाउन हाम्रो पार्टीमाथि दमनमा उत्रिएको छ जुन फासिवादी हर्कतका अगाडि झुक्नुको साटो लुटेरा, दलाल सरकारलाई मुहतोड जबाफ फर्काइनेछ ।”
आमनागरिकहरू महामारीले उब्जाएको पीडामा उकुसमुकुस भैरहेको अवस्थामा नचाहँदानचाहँदै पनि फासिवादी सरकारको दमन, धरपकड तथा गिरफ्तारी, झूट्टा मुद्दा र राजनीतिक गतिविधिमाथिको प्रतिबन्धका विरुद्ध प्रतिरोध गर्न सेती–महाकाली ब्युरोमा सङ्घर्षका कार्यक्रमहरू घोषणा गरिएको कुरा उल्लेख गर्दै विज्ञप्तिमार्फत यसको प्रभावकारी कार्यान्वयनका निम्ति सिङ्गो पार्टीपङ्क्तिलाई आह्वान छ भने सहयोगका लागि सेती–महाकालीका आम जनसमुदायमा सोही विज्ञप्तिमार्फत अपिल गरिएको छ।