स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैंले बनाएको निर्देशिका विपरीत दुई निजी अस्पताललाई आफैं स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्ने अनुमति दिएको छ । मन्त्रालयका केही अधिकारीको स्वार्थमा स्टार र केएमसी अस्पतालको ल्याबलाई आफैं नमुना संकलन गरेर परीक्षण गर्न दिइएको हो ।
सरकारको निर्णय वमोजिम गत असार ८ गते जारी निर्देशिकामा निजी ल्याबमा पनि कोरोना परीक्षण गर्न दिने तर आफैं नमुना संकलन गरेर परीक्षण गर्न नपाइने प्रष्ट उल्लेख छ । निर्देशिकाको मापदण्ड नम्बर ७ मा भनिएको छ, ‘निजी प्रयोगशालाले सरकारी प्रयोगशालाबाट आएको नमुनालाई मात्र परीक्षण गर्नेछ ।’ सरकारी प्रयोगशालाबाट नमुना दिने र टेष्ट गरेवापत प्रत्येक नमुनाको पाँच हजार पाँच सय रुपैयाँ सरकारले दिने भनिएको छ ।
काठमाढौंको नयाँ बानेश्वरस्थित सेन्ट्रल डाइग्नोस्टिक ल्याव (सीडीएल), लाजिम्पाटको सूर्या हेल्थ केयर, बुटवलको नेशनल प्याथ ल्याब र नेपालगञ्जको बागेश्वरी प्रयोगशालाले पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् । तर चार वटै ल्याबलाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति दिइएको छैन । उनीहरुलाई सरकारले दिएको नमुना मात्र परीक्षण गर्नुपर्ने भनिएको छ । र, अहिलेसम्म कुनै पनि ल्याबले सरकारी प्रयोगशालाबाट नमुनासमेत पाएका छैनन् ।
तर स्टार र केएमसी अस्पतालको ल्याबलाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति दिइएको पाइएको छ । दुबै अस्पताललाई त्यहाँ आएका बिरामीका साथै विदेश जाँदा कोरोना परीक्षणको रिपोर्ट चाहिने व्यक्तिहरु र विदेशी नियोगमा कार्यरत कर्मचारीको परीक्षण गर्न अनुमति दिइएको छ ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही अधिकारीको स्वार्थ तथा स्टार र केएमसीको ल्याबमा आवद्ध भएका तर विभिन्न सरकारी अस्पतालका प्रयोगशालाहरुमा पीसीआर मेसिन जोड्ने केही व्यक्तिकाकारण स्टार र केएमसी अस्पतालको ल्याबलाई आफैं नमुना संकलन गरेर परीक्षण गर्ने निर्णय गराइएको हुनसक्ने समाचारस्रोतको दाबी छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झा दुई अस्पताललाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्न दिने निर्णय स्वास्थ्य मन्त्रालयको भएको बताउँछिन् । उनकाअनुसार निर्देशिका बनाउने काम ल्याबले गरे पनि त्यसलाई स्वीकृत मन्त्रालयले नै गरेको हो र, दुई अस्पताललाई फरक अनुमति दिँदा पनि त्यो निर्देशिकामा कुनै परिर्वतन गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले पनि स्टार र केएमसी अस्पताललाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्न अनुमति दिइएको स्वीकार गरे ।
सरकारले निजी ल्याबमा समेत कोभिड–१९ टेष्ट गर्न अनुमति दिने तयारी गरेपछि मात्र स्टार र केएमसीले पीसीआर मेसिन खरिद प्रक्रिया थालेका थिए । जबकी केही निजी ल्याबसँग त्यसअघि नै कोरोना परीक्षण गर्ने पीसीआर मेसिन थियो । तर दुबै अस्पतालले मेसिन नल्याएसम्म स्वास्थ्य मन्त्रालयले निजी ल्याबलाई कोभिड–१९ परीक्षण गर्न दिने मापदण्ड ल्याएन । अहिले ती दुवै अस्पतालले पिसिआर मेशीन ल्याए र मन्त्रालयले निर्देशिका पनि ल्यायो । तर त्यही निर्देशिकालाई वेवास्ता गर्दै स्टार र केएमसी अस्पताललाई आफैं स्वाब संकलन गरेर कोभिड–१९ परीक्षण गर्ने अनुमति दिइएको छ ।