सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा नेपाली सेनाका सहायकरथी रावल र महासेनानी खड्का बर्खास्त

सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा नेपाली सेनाका सहायकरथी रावल र महासेनानी खड्का बर्खास्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ असार २०७७
  • 6.9K
    Shares

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधवार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो ।

दुवै अधिकृतलाई सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पुष्टि गरे ।

बर्खास्त सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, ओहोदामा नबसेको र सैनिक अनुशासन उल्लङ्घन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको सहायक रथी पाण्डेले बताए ।

सहायकरथी रावल उपरथी र महासेनानी खड्का सहायकरथी बढुवाको लाईनमा थिए । दुवै जना अधिकृत प्रधानसेनापति पूर्णचन्द्र थापाका विश्वासपात्र हुन् । सेनामा नीति निर्देशनालयमा प्रधानसेनापतिले विश्वास गरेका अधिकृतलाई जिम्मा दिने प्रचलन छ ।

इन्जिनियरिङ्ग पृष्ठभुमि रहेका सहायकरथी रावल र महासेनानी खड्का सेनाको निति निर्देशनालयमा कार्यरत हुंदा आदेश पालना नगरेको आरोपमा छानविन चलिरहेको थियो । त्यस बारेमा छानबिन  गर्न नेपाली सेनाले उपरथी सुवर्ण शाहको अध्यक्षतामा सैनिक समरी अदालत गठन गरेको थियो ।

के थियो कसुर?

सेनाका २७ वेसिकका सहायकरथी रावल र ३० वेसिकका खड्का सेनामा भविष्य भएका अधिकृत भनेर चिनिन्थे । उनिहरु दुवै जनाले व्यक्तिगत स्वार्थका लागी प्रधानसेनापतिको आदेश विपरित काम गरेको बताइन्छ । हायर कमाण्ड एण्ड म्यानेजमेण्ट कोर्सको मुल्यांकन प्रणाली पुर्नरावलोकन गर्ने विषयमा प्रधानसेनापति थापाले दिएको निर्देशनको दुवैले अवज्ञा गरेको आरोपमा छानविन भइरहेको थियो ।

सैनिक स्रोतले दिएको जानकारीअनुसार रावल हायर कमाण्ड गर्दा आफु मर्यादाक्रममा पछि परेकोमा असन्तुष्ट थिए । आफुले पीएचडी गरेको भएपनि थेसिसमा समेत पहिलो नभएको भन्दै उनी असन्तुष्ट थिए । उनको ठाउंमा महासेनानी दिपेशजंग शाहलाई थेसिसमा पहिलो भएका थिए ।

नीतिमा प्रमुख भएर आएसंगै सहायकरथी रावलले हायर कमाण्ड एण्ड म्यानेजमेण्ट कोर्सको मुल्यांकन प्रणाली पुर्नरावलोकन गर्ने जाहेरी प्रधानसेनापति थापा समक्ष लिएका थिए । प्रधानसेनापति थापाले उनको प्रस्तावलाई पिएसओज वैठकमा छलफल गर्ने निर्देशन भएकोमा रावल र खड्काले आफुखुसी प्रधानसेनापति थापाको निर्देशनको अवज्ञा गरेको सैनिक स्रोतले जानकारी दियो । नीति निर्देशनालयबाट डिजिएमटीमा पत्र पठाएर आफुखुसी निर्णय लागु गर्न खोजेको भन्दै उनिहरुमाथी कार्वाही भएको हो ।

प्रधानसेनापति थापाले पछिल्लो समयमा सेनामा सैनिक अनुशासन उल्लंघन गरेको र आर्थिक अनियमितता गरेको आरोपमा दर्जनभन्दा बढी सैनिक अधिकारीहरुलाई कार्वाही गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार