धान रोप्ने मेशिनले काम नगरेपछि कृषिमन्त्री भुसाल धान नरोपी फर्किए

धान रोप्ने मेशिनले काम नगरेपछि कृषिमन्त्री भुसाल धान नरोपी फर्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ असार २०७७
  • 8K
    Shares

मेशिन नचलेपछि कृषिमन्त्री घनश्याम भुसाल

धान रोपाइ उद्घाटन गर्न प्रयोग भएको मेशिनले काम नगरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल धान नरोपी फर्किएका छन्।

उदयपुरको त्रियुगा नगरपालिका-१३ बडेवहामा स्थानीय साहरा सहकारी संस्थाले शुरु गरेको चक्लाबन्दी खेतीको सोमबार उद्घाटन गर्न पुगेका मन्त्री भुसाल धान रोप्ने मेशिनले काम नगरेपछि धान नै नरोपी फर्किएका हुन्।

धान दिवसको कार्यक्रममा रोपाइँको उद्घाटन गर्न मन्त्री भुसाल हाफ सर्ट, स्टकोट, पाइन्ट र बुट लगाएर  खेतमा गएका थिए । उनीसँगै प्रदेश १ का भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री राम राना, प्रदेश सांसद विमल कार्की, त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, नेकपाका स्थानीय नेता कार्यकर्ताहरु सहभागी थिए।

तर धान रोपेको उद्घाटन गर्ने बेलैमा त्रियुगा नगरपालिकाले ब्यबस्था गरेको धान रोप्ने  मेसिनले काम गरेन । धानको बेर्ना राखेर खेतमा मेसिन गुडाउँदा बिउ खसाल्दै जानुपर्नेमा धानको बिउ छोडेन । कृषि मन्त्रीले पनि मेसिन चल्छ कि भनेर एक छिन हेरे तर चलेन । उनले प्राविधिकहरुलाई ‘तपाईंहरुले प्रयास गर्नुभयो धन्यवाद’ भने ।

सँगै रहेका प्रदेशका भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री राम रानाले यति ठूलो कार्यक्रममा विना तयारी मेसिन ल्याइएको भन्दै गुनासो गरे । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले अघिल्लो दिन मेसिनले राम्रैसँग काम गरे पनि अहिले एक्कासी के भयो भन्दै अचम्म माने ।  प्राविधिकले खेतमा पानी धेरै भएकाले बिउ गाडिएको बताए ।

मेसिनले काम नगरेपछि नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, प्रदेश सांसद विमल कार्की, राज्यमन्त्री राम रानाले आफैले बिउ लिएर हातैले रोपे।  तर  कृषिमन्त्री भुसालले भने धान रोपेनन् । उनी यत्तिकै धान खेतबाट फर्किए।

प्रतिक्रिया
सम्बन्धित समाचार