रुकुम पश्चिमको चौरजहारीमा भएको सामूहिक हत्या काण्डमा संलग्न रहेको अभियोग लागेका २३ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले त्यस्तो आदेश दिएको हो।
तीन जना प्रतिवादी तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा छाड्न आदेश दिएको जिल्ला अदालतले प्रेमिका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।
वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा जेठ ३२ गते मुद्दा दर्ता भएको थियाे । सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियाे ।
असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको हो। ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए।
यसअघि असार १ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ८ सोती गाउँकी १७ वर्षीया किशोरी र उनका भाईलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो।
जेठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी भएको काण्डमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु आमासहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कर्तब्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो ।
जाजरकोटबाट केटी भगाउन भनी गएका भनिएका जाजरकोट जिल्लाका २१ बर्षीय नवराज विकसहित गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो ।