सरकारले नि:शुल्क वितरण गर्दै आएको जीवनजल नपाएर प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेशन वार्डमा रहेका एक बिरामीको छट्पटाउदै मृत्यु भएको छ।
धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ बर्षका राजु सदाको पखाला लागेको बेला नि:शुल्क पाइने जीवनजल नपाएर छट्पटाउदै सोमबार साँझ मृत्यु भएको हो ।
रोजगारीको खोजीमा भारतको अहमदावाद पुगेका सदा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारतमा लकडाउन गरेपछि घर फर्किएका थिए। एक साता हिँडेर जेठ गते घर आइपुगेका उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टिनमा राखे । तर, लामो समयसम्म कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएन ।
खाना, सरसफाइ राम्रो नभएका कारण क्वारेटिन बसेको १७ औं दिनमा उनलाई पखाला लाग्यो । तर, उनले राम्रो उपचार पाएनन् । क्वारेन्टिनमा बसेका अरु पनि बिरामी पर्न थाले ।
घटनालाई नजिकबाट नियालेका पचु सदाका अनुसार, जेठ २८ गते उनीसहित तीनजनालाई टिपरमा राखेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्यायो । आइसोलेसनमा भर्ना गरेको अस्पतालले उपचारमा ध्यान दिएन। उनलाई खाना त दिइन्थ्यो, तर कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक र स्वास्थ्यकर्मी हेर्नसमेत नआएको परिवार र साथीभाइको गुनासो छ ।
राजु यसवीचमा निरन्तर झाडापखाला भएका कारण सिकिस्त हुँदै गए । उनलाई एक पुरिया जीवनजल समेत नदिइएको पचु बताउँछन् ।
सोमबार कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि उनलाई दिउँसोतिर आकस्मिक कक्षसम्म लगियो । तर, धेरै ढिला भइसकेको थियो । साँझ उनको मृत्यु भयो ।
अस्पतालको लापरवाहीका कारण राजुको मृत्यु भएको परिवारको दाबीलाई प्रादेशिक अस्पतालका चिकित्सक भने मान्न तयार छैनन् । आइसोलेसन कक्षका प्रमुख डा. जामुन सिंह अस्पतालका डाक्टरहरुलाई बोलाएर देखाएको दाबी गरे ।
सिंहका अनुसार उनलाई इन्सेफ्लाइटिसको आशंका गरिएको छ । शनिबार रातिदेखि उपचार पनि शुरु गरिएको उनको दाबी छ । इन्सेफ्लाइटिस भएको अवस्थामा बिरामी यसरी छट्पटाउने गरेको उनले सुनाए ।
राजुको अवस्थाबारे परिवारलाई जानकारी गराएको र हिस्ट्रीबारे परिवारले जानकारी दिन नसकेको उनले बताए ।