पाकिस्तानी सैनिकसगको भिडन्तमा नेपाल घर भएका एक जना भारतीय गोर्खा सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङ घर भै हाल रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा बसाइ सरेका ३७ वर्षीय दीपक कार्की रहेका छन्।
भारतीय सेनाको ३/५ गोरखा राइफल्समा हवल्दार रहेका कार्कीलाई जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामास्थित लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक भारतीय सीमा सुरक्षामा खटिएका बेला सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानी सैनिकले हानेको गोली लागेर मृत्यु भएको भरातीय सेनाले जनाएको छ। पाकिस्तानी सैनिकले हानेको गोली लागेर गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ।
पाकिस्तानी सैनिकले युद्धविरामलाई उल्लंघन गर्दै गोलाबारी गरेको आरोप भारतीय सेनाले लगाएको छ। भारतीय सञ्चारमाध्यमहरुले कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब चार बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिने जनाएका छन् ।
दशैंमा एक महिनाको छुट्टीमा आएर फर्केका कार्कीको भारतीय सेनामा सेवा अवधि १८ वर्ष पूरा भएको थियो र एक वर्षअघि नै पेन्सन आउने तयारी भैरहेका बेला सिपाहीबाट हवल्दार पदमा बढुवा भएपछि रोकिएका थिए । त्यही क्रममा उनको जम्मु काश्मिरमा पोस्टिंग भएको थियो। कार्की परिवारमा ९० वर्षीय बुवा, श्रीमती, दुई छोरी र एक छोरा छन् ।
भारतीय सेनाको ड्युटीमै रहेका बेला नेपाली नागरिकको मृत्यु भएको पछिल्लो घटना पहिलो भने होइन । गत वर्ष मंसिरमा पनि जम्मू–कश्मीरमै खटिएका गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरले पनि दोहारो गोलीबारीमा परेर ज्यान गुमाएका थिए ।
त्यसैगरी जेठ २०७४ मा पनि भारतीय सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत तीन जना नेपालीको जम्मू–कश्मीरमै भएको आतंकवादी हमलामा मृत्यु भएको थियो । उक्त घटनामा कास्कीका गिरीश गुरुङ, गुल्मीका डम्बरबहादुर पुन र पर्वतका रविन शर्माको ज्यान गएको थियो । त्यसको तीन महिनाभित्रै भदौ २०७४ मा पनि लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा नजिक भएको गोलीबारीमा परेर भारतीय सेनामा कार्यरत अर्का एक जना नेपाली मूलका ३६ वर्षीय सन्दीप थापाको मृत्यु भएको थियो ।
फेरि एक महिनाभित्रै भारतीय सेनाकै गोर्खा राइफलमै कार्यरत २७ वर्षीय राजेश खत्रीको पनि जम्मू–कश्मीरमै खटिएका बेला सीमामा भएको दोहोरो गोलीबारीमा मारिएका थिए । जुन २०१९ मा भारतको पूर्वोत्तर राज्य असमको झोरहाटबाट चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको भारतीय वायु सेनाको एउटा विमान दुर्घटना हुँदा लमजुङ पुर्ख्यौली घर भएका फ्लाइट लेफ्टिनेन्ट २८ वर्षीय राजेश थापाको पनि मृत्यु भएको थियो ।