अर्थ तथा विकास समितिको ‘कामै छैन’ भन्दै सांसद दीपक मनाङ्गेले राजिनामा दिए

अर्थ तथा विकास समितिको ‘कामै छैन’ भन्दै सांसद दीपक मनाङ्गेले राजिनामा दिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ असार २०७७
  • 6.8K
    Shares

मनाङ जिल्लाबाट गण्डकी प्रदेश सभामा बिजयी प्रदेश सांसद राजीब गुरुङ(दीपक मनाङ्गे) ले प्रदेश सभा अन्तर्गत गठित अर्थ तथा विकास समितिको कामै नभएको भन्दै सो समितिको सदस्य पदबाट राजिनामा दिएका छन्।  उनले शुक्रबार अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालालाई राजिनामा बुझाएका हुन्।

समितिमा रहेर ‘ठेक्कापट्टाको कामको अनुगमन गर्ने र भत्ता बुझ्ने अनि अनियमितता भए पनि चुप लाग्नुपर्ने बाध्यात्मक अवस्था देखेपछि आफुले समिति सदस्य पदबाट राजिनामा दिएको बताउदै सांसद गुरुङले कामै नभएको समितिमा बसिरहनुको औचित्य नरहेको बताए।

नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्य विहीन समितिमा बस्न आफैंलाई लाज लागेर राजीनामा दिएको उनले सुनाए । उनले भने, ‘समितिमा हुँदा म पनि अनुगमनमा गएँ । तर भत्ता मात्र लिने काम जस्तो देखियो । अनियमतता देखिएपनि कारवाही गर्ने अधिकारै छैन ।’

कर्मचारी, नेतादेखि सबै मिलेर नदिजन्य पदार्थ तथा प्राकृतिक साधान र स्रोतमाथि ब्यापक दोहन भैरहेको आरोप लगाउदै सांसद गुरुङले गिटी वालुवको टेन्डरमा ठूलो भ्रष्टाचार रहेको खुलासा गरे। तनहुँ र कास्कीको सीमामा रहेको कोत्रेमा भएको गिटीबालुवाको ठेक्कामा ब्यापक अनियामितता रहेको उदाहरण प्रस्तुत गर्दै उनले अघि भने, “‘कोत्रेमा हेर्नुस् न मुख्यमन्त्रीदेखि मन्त्री सबै त्यहीँ बाटो ओहोरदोहोर गर्छन्।  तर त्यहाँ भइरहेको चरम दोहनको वास्तै गर्दैनन् ।’

प्रतिक्रिया