चितवन जिल्लाको कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा बालुवामा सुनको जस्तो कण देखिएपछि त्यस्ता कण हेर्न त्यहाँका मानिसको घुइंचो लागेको छ। तर स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ ।
कालिका नगरपालिका–१ मा स्थानीयवासी सन्तवीर स्याङताङको जग्गामा डिप बोरिङ खन्ने क्रममा निस्किएको बालुवामा सुन जस्तै देखिने कण निस्किएको हो ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्ता पहेँला वस्तु देखिएपछि स्थानीयवासीले आफूलाई खबर गरेको बताए । आफूले जिल्ला समन्वय प्रमुख र प्रजिअलाई खबर गरेको श्रेष्ठले जानकारी दिए ।
हाल एक सय ६० फिट तल बोरिङ खन्दै गर्दाआएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहँेला कणहरु देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिए । प्रशासनले यस विषयमा गृहमन्त्रालयमा पत्राचार गरेको छ । थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेको छ ।