दैलेखमा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन थपिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा शुक्रबार साँझ ६ बजेदेखि अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र आसपासका क्षेत्रमा लागू गरिएको छ ।
यी दुई नगरपालिकाबाहिर भने ‘लकडाउन’को अवस्था नै रहनेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
कर्णाली प्रदेशको दैलेख जिल्लामा शुक्रबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो । यसअघि बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।
जिल्लामा हालसम्म २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ ।