सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ सूचना तथा संचार प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए।
मन्त्री खतिवडाका अनुसार, परिस्थिति हेरि कुन क्षेत्रमा लकडाउन खुकुलो बनाउने वा कतै कडा पार्ने भन्ने बारे कोभिड उच्चस्तरीय समितिले निर्णय गर्नेछ । सरकारले असार १६ गतेसम्म सीमा नाका र अन्तराष्ट्रिय उडान बन्द राख्ने पनि निर्णय गरेको छ ।
यसैगरी सरकारले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ भने भारतबाट आउनेका लागि २० वटा नाका तोकेको छ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । त्यस्तै कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय पनि गरिएको छ ।