अर्कै व्यक्तिलाई दुर्घटनामा संलग्न सवारीचालक उल्लेख गरेपछि ………………….

अर्कै व्यक्तिलाई दुर्घटनामा संलग्न सवारीचालक उल्लेख गरेपछि ………………….


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ जेष्ठ २०७७
  • 5.1K
    Shares

ग१ख ७५०२

पोखरा । घटनास्थल प्रकृति मुचुल्का गर्दा झुठो विवरण बनाउन सहयोग गरेको आरोपमा तनहुँ प्रहरीले एक जना जुनियर प्रहरी अधिकृतलाई कारवाही प्रकृया शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले इलाका प्रहरी कार्यालय भिमादका एक जुनियर प्रहरी अधिकृतलाई कारवाही प्रकृयाका रुपमा स्पष्टीकरण सोधिएको तनहुँ प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिए । तर उनले ती प्रहरी अधिकृतको नाम भने खुलाउन चाहेनन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी घनश्याम अर्यालले पनि कारवाही प्रकृया शुरु भएको पुष्टि गरे ।


गएको वैशाख १५ घिरिङ गाउँपालिका वडा नं. ५ बेलभञ्ज्याङ देउराली स्थित भित्री सडक खण्ड अन्तर्गत डेढगाउँबाट पोखरातर्फ आउँदै गरेको ग१ज ७५०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा नवलपुरको बौद्धिक कालिका गाउँपालिका–२ की २३ वर्षीया सञ्जु पोख्रेलको मृत्यु भएको थियो भने अन्य पाँच जना घाइते भएका थिए । सो दुर्घटनामा परी नवलपुरको बौद्धिक कालिका गाउँपालिका–२ की ५४ वर्षीया दिलमाया खत्री, २६ वर्षीया सुनिता खत्री, ७ वर्षीय अभिषेक खत्री, ६ महिने बालक अनिल खत्री र सहचालक २१ वर्षीय सन्तोष परियार घाइते भएका थिए ।
प्राप्त विवरण अनुसार, सवारी चालक अनुमतिपत्र नभएका सवारीधनी समेत रहेका नवलपुरको बौद्धिक कालिका गाउँपालिका–२ गाडी सञ्चालक चामनारायण दमाईले आफू बच्न सवारी चालक अनुमतिपत्र भएका बालकृष्ण परियारलाई सवारीचालकको रुपमा प्रहरी हिरासतमा पठाएका थिए । तर त्यस दुर्घटनामा परी घाइते भएका सुनिता खत्री र सन्तोष परियारले उपचारपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगी गाडी दुर्घटना हुने बेलामा सवारी चालकको रुपमा सवारी धनी चामनारायाण दमाई रहेको खुलाएपछि नक्कली दुर्घटनामा संलग्न नक्कली सवारी चालक प्रहरी हिरासतमा रहेको खुलेको थियो ।
नयाँ विवरण खुल्नासाथ जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी धनी चामनारायाण दमाईलाई पक्राउ गरी सवारी ज्यान मुद्दा चलाएको थियो भने सवारी दुर्घटनामा संलग्न सवारी चालकका रुपमा प्रहरी हिरासतमा बसेका नक्कली सवारी चालक बालकृष्ण परियारलाई मतियारका रुपमा जिल्ला अदालत तनहुँमा मुद्दा चलाएको थियो ।


उक्त मुद्दामा जिल्ला अदालत तनहुँले अभियुक्त चामनारायण दमाईलाई एकलाख रुपियाँ र नक्कली सवारी चालक बालकृष्ण परियारलाई ७५ हजार रुपियाँ धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । उनीहरु दुवै जना अदालतले तोकेको धरौटी रकम तिरेर थुनामुक्त भईसकेका छन् । तर दुर्घटनापश्चात् घटनास्थल प्रकृति मुचुल्का उठाउन गएका इलाका प्रहरी कार्यालय भिमादका जुनियर प्रहरी अधिकृतले बद्नियतपूर्वक नक्कली सवारी चालक बालकृष्ण परियारलाई घटनामा संलग्न सवारीचालक भनी उल्लेख गरेकोमा तनहुँ प्रहरीले छानविन प्रकृया शुरु गरेको छ । तनहुँ प्रहरी प्रमुख एसपी विनोद सिलवालले,“के कति कारणले बालकृष्ण परियारलाई दुर्घटनामा संलग्न सवारीचालक उल्लेख गरिएको हो ?” भनेर इलाका प्रहरी कायालय भिमादलाई स्पष्टीकरण सोधिएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार