कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लक डाउनका बेला आपराधिक घटनामा प्रेस लेखिएको सवारी साधनहरु प्रयोग हुने गरेको देखिएको छ।
सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलमा सवार दुई जनालाई आइतबार बिहान प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलमा घुमिरहेको अवस्थामा सर्लाही जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियारसहित दुई जनालाई पक्राउ गरेको हो ।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरका अनुसार, प्रहरीले बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह पक्राउ परेका छन् । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्काे चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको कुँवरले जानकारी दिए ।
उक्त ठाउँमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले प्रेस लेखिएको मोटरसाइकलमा सवार उनीहरुलाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
यसअघि २७ फागुनमा बारामा प्रेस लेखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको थियो । प्रेस लेखिएको ना.६२ प ६२६७ न. को मोटरसाइकलमा सबार वीरगञ्ज १५ बस्ने ३० बर्षीय जीतेन्द्रकुमार सिंहको साथबाट डाइजेपाम, नुफिन, फेनारगन बरामद भएको थियो ।