नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्वअध्यक्ष एवं खाँदबारी नगरपालिका–५ का कार्यबाहक वडाध्यक्ष श्यामप्रसाद निरौलामाथि सांघातिक हमला गर्ने एक युवक पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेका युवक स्थानीय बीरबहादुर तामाङ रहेका छन्।
शुक्रबार राति ८ बजेतिर वडा कार्यालय नजिकै कार्यवाहक अध्यक्ष निरौलामाथि अभियुक्त तामाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । अभियुक्त तामाङलाई गाउँलेहरुले समातेर जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बुझाएको छ ।
अहिले कार्यवाहक अध्यक्ष निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । पछाडिबाट खुकुरी प्रहार गरिएका निरौलाको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले कार्यवाहक अध्यक्ष निरौला खतरामुक्त रहेको र टाउकोमा १० टाँका सिलाइ भएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ ।
कार्यवाहक अध्यक्षमाथि के कति कारणले आक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले जानकारी दिए।
नेपाल पत्रकार महासंघ संखुवासभाले पूर्वअध्यक्ष निरौलामाथि भएको आक्रमणको भर्त्सना गर्दै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेको छ । त्यसैगरी नेपाल प्रेस युनियन संखुवासभा शाखा र नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले पनि विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।