भारतले नेपाली भुमि लिपुलेक मिचेर मानसरोबर जाने सडक बनाएको भन्दै चौतर्फी बिरोध भैरहंदा भारतीय सेनाका प्रमुख जनरल एमएम नराभनले चीनको इशारामा नेपालले यो मुद्दा उठाएको हुन सक्ने आरोप लगाएका छन्। मनोहर पारिकर इन्टिच्युट फर डिफेन्स इस्टडिज र एनालाइसिस (एमपी–आईडीएसए) आयोजनामा शुक्रबार भारतको नयाँ दिल्लीमा ‘कोभिड र भारतीय सेनाः प्रतिक्रिया र पछाडी’ नामक छलफल कार्यक्रममा बोल्दै भारतीय सेनाका प्रमुख जनरल नराभनले यस्तो आरोप लगाएका हुन्। उनले कार्यक्रममा चीनकै नाम नलिए पनि चीनको इशारामा नेपालले यो मुद्दा उठाएको हुन सक्ने उल्लेख गरेको भारतीय संचार माध्यमहरुले समाचार लेखेका छन् ।
भारतले नेपाली भुमि लिपुलेक मिचेर मानसरोबर जाने सडक बनाएको भन्दै चौतर्फी बिरोध भैरहंदा उनले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरे। उनले नेपाल-भारत-चीन बिचको त्रिदेशीय विन्दुको त्यहाँ अहिले पनि विवाद नभएको बताए।
इन्डियन एक्सप्रेस लगायत भारतीय संचार माध्यमहरुले दिएको समाचारमा भारतीय सेना प्रमुख नराभनले ‘हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं । नेपालले काली नदीको पूर्वी भागलाई आफ्नो भू-भाग भनेर स्वीकार गरेको हो । त्रिदेशीय विन्दुको सम्बन्धमा त्यहाँ अहिले पनि विवाद रहेन,’ भनेका छन् ।
भारतीय जल सेनाका अवकाश प्राप्त उपप्रमुख शेखर सिन्हाले आफ्नो भूमिमा सडक निर्माण गर्दा पनि नेपालले किन बिरोध गरेको हो भन्दै प्रश्न गर्दै नेपालले बोर्डर आउट पोस्ट स्थापना गरेकोमा आपत्ति प्रकट गरे। साथै, सिन्हाले लिपुलेक र केहि समय यता भारत र चीन बीच लद्दाख र सिक्किममा भएको द्वन्द्वबीचको कुनै सम्बन्ध भएको वा नभएको बारेमा प्रश्न गरेका थिए ।
भारतले उत्तराखण्ड हुँदै नेपाली भूमिबाट नेपाल–चीन सीमा विन्दु लिपुलेकसम्म सडक निर्माण गरेको छ । त्यसमा नेपालको दार्जुला जिल्लाको गुन्जीबाट लिपुलेकसम्म १९ किलो मिटर नेपाली भूमि रहेको छ । भारतका रक्षा मन्त्रीले उक्त सडकको एकतर्फ रुपमा नेपाललाई थाहा नै नदिईकन वैशाख २६ मा उद्घाटन गरेका थिए ।