मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या तीब्र गतिमा बढेपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिंडडुल गर्न दिइएकोमा अब बिहीबारदेखि उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
काठमाण्डौ उपत्यकाका ३ जिल्लाहरु काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा भने पास लिएका मानिसले आवतजावत गर्न पाउने छन्। तर त्यस पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृहको यो निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिइएको छ ।
चैत ११ गतेबाट लकडाउन थालिएपछि देशभर एक जिल्लाबाट अर्को जिल्लाका लागि सबारी चलाउन सयौं पास जारी भएका छन् । जिल्लाभित्र आवागमन गर्न भने प्रमुख जिल्ला अधिकारीले आवश्यकता अनुसार निर्णय लिनसक्ने सहप्रवक्ता अधिकारीले जानकारी दिए।
यस्तै सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयका सचिव र बैंक/वित्तीय संस्थालगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास लिएर मात्रै हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको सहप्रवक्ता अधिकारीले बताए ।
बारामा निषेधाज्ञा जारी
यसैबीच मध्य तराईको बारा र पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ । बिपत ब्यबस्थापन केन्द्रको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने(अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।
संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन बाहेकका हस्तलिखित तथा ई–पास समेत भोलिदेखि खारेज गर्ने निर्णय गरेको छ ।
भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।