आहा रारा गोल्डकप : टाइब्रेकरमा विभागीय टिम एपीएफलाई पराजित गर्दै झापा-११ क्वार्टर फ़ाइनलमा प्रवेश

आहा रारा गोल्डकप : टाइब्रेकरमा विभागीय टिम एपीएफलाई पराजित गर्दै झापा-११ क्वार्टर फ़ाइनलमा प्रवेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ फाल्गुन २०७६
  • 4.8K
    Shares

दोश्रो दिनको झापाबिरुद्ध एपीएफको खेल

विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा–११ फुटबल क्लब पोखरामा जारीआहा रारा गोल्डकपको दोस्रो दिनको खेलबाट  क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो।  थपिएको ३० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा झापाले ५–३ को जित निकाल्यो ।

झापाको लागि हेमन्त थापामगर, मौसम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र कप्तान संजित राईले गोल गरे । एपीएफका लागि नविन लामा, राजिव लोप्चन र गोलरक्षक राजु नगरकोटीले गोल गरे । झापाका गोलकिपर राजकुमार लिम्बुले एपीएफका सुदिप शिख्राकारको पेनाल्टी बचाए । त्यसो त खेलको ५३ औं मिनेटमा उनै लिम्बुले पेनाल्टी एरियामा फाउल गरेपछि एपीएफलाई पेनाल्टीको अवसर दिलाएका थिए । एपीएफका नविन लामाको पेनाल्टी उनले रोक्न सफल भएका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।

झापाका लागि खेलको एकसय ११ औं मिनेटमा सुनील खड्काले गोल गरे । अन्तिम मिनेटमा सम्हालिन नसक्दा झापाले एपीएफलाई बराबरी बनाउने मौका दियो । एपीएफका आकाश बुढामगरले खेलको १२० औं मिनेटमा शानदारहेड गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत झापाले फागुन २५ मा मनाङ मर्स्यांदी क्लबसँग खेल्ने छ । शनिबार आयोजक सहारा क्लब र नेपाल पुलिस क्लबबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ ।

प्रतिक्रिया