म्यान अफ दी म्याच घोषित त्रिदेव गुरुङको दुई गोलको मद्दतले आयोजक सहारा क्लव १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । बिहीबारदेखि पोखरा रंगशालामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराले ब्रिगेड व्वाइज क्लवलाई अतिरिक्त समयको सहायतामा ३—२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
एकेडेमी संचालन गर्नकै लागि आयोजना हुँदै आएको गोल्डकपमा यसपटक सहाराले एकडेमीमै प्रशिक्षणरत ६ खेलाडीलाई टोलीमा समेटेको छ ।
९० मिनेटको निर्धारित समयमा दुबै तर्फ २÷२ गोलले खेल बराबरीमा टुंगिएसंगै अतिरिक्त समय १५ मिनेट थप गरिएकोमा अतिरिक्त समयको १० अर्थात खेलको एक सय मिनेटमा त्रिदेवले उत्कृष्ट हेड गोल गरेका हुन्। यस अघि त्रिदेवले ७९ औं मिनेटमा विपक्षि गोलरक्षक बिशाल सुनार सहित दुई डिफेन्स खेलाडीलाई विट गर्दै गोल गरेका हुन्। सहाराको लागि पहिलो गोल विदेशी खेलाडी सीवी वीरिचले खेलको ६२ औं मिनेटमा गरेका हुन्। कमल थापाको फ्रि किकमा सीवीले हेड गोल गरेका हुन् ।
ब्रिगेडका राजेस परियारले खेलको ५८ औं मिनेटमा पहिलो गोल गरे । उनले डि वक्सबाट फष्टवार च्याप्दै गोल गरेका थिए । खेलको ६३ औं मिनेटमा विजय गुरुङले धुलमुलमा करिब पेनाल्टी एरिया नजिकबाट गोल गरेका हुन्। क्वाटरफाइनलमा सहाराले विभागिय टोली नेपाल पुलिस क्लवसंग यही फागुन २४ गते प्रतिष्प्रर्धा गर्ने भएको छ ।
खेलको २६ औं मिनेट देखि १० खेलाडीमा सिमित भएको सहारा बिरुद्ध ब्रिगेड व्वाइजले पाएका केही अवसर सदुपयोग गर्न चुकेसंगै आहा रारामा पहिलो पटक सहभागि भएको पहिलो खेलबाट बाहिरिनु पर्यो । सहारा एकेडेमीका उत्पादन पूर्व राष्ट्रिय खेलाडी अनिल गुरुङको कप्तानीमा मैदानमा उत्र्रिएको ब्रिगेड व्वाइजले अन्तिम ५ मिनेटमा सम्हालिन नसक्दा हार व्यहोर्नु पर्यो । डि वक्स भित्र बललाई हान्ने प्रयासमा सहाराका जीवन रायमाझीले विपक्षि गोलरक्षक सुनारलाई प्रहार गरेसंगै रेफ्रि प्रकाशनाथ श्रेष्ठले रातो कार्ड देखाउदै उनलाई खेलको २६ औं मिनेटमा बाहिर पठाएका थिए । दुबै तर्फका खेलाडीहरुले प्रहार गरेको वल थप सदुपयोग हुन नसक्दा निर्णय लिन निर्धारित समय कुर्नु परेको थियो । यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट क्लवले यस बर्ष सुजल श्रेष्ठलाई नगद ३५ हजार सहित सम्मान गरेको छ ।
यसैबिच, शुक्रबार नेपाल एपीएफ क्लब र झापा–११ फुटबल क्लब बीच प्रतिष्पर्धा हुने भएको छ । चैत १ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गरेका थिए।
प्रतियोगितामा १० टिम सहभागी भएको महासचिव रामजि प्रसाद अधिकारीले बताए ।प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल आयाल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब, झापा–११ फुटबल क्लब, भारतको गान्तोक सिटी फुटबल क्लब, ब्रिगेड ब्वाइज क्लब र आयोजक सहारा प्रतिष्पर्धामा छन् । लिगविजेता मच्छिन्द्र क्लबको भने सहभागिता छैन । विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताबाट १ करोड १८ लाख रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार रुपैयाँ खर्च हुने अपेक्षा गरिएको क्लब अध्यक्ष केशव बहादुर थापाले बताए ।
यसैबिच पोखरा रंगशालाको फुटवल मैदानमा उक्त प्रतियोगिता गरे वापत क्लवले हालै निर्माण हुदै गरेको रंगशालाको सरसफाई तथा मर्मत सम्हारको लागि भन्दै ४ लाख रुपैया जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरेको छ ।