तलब समेत नपाएका नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवालले राजीनामा दिए

तलब समेत नपाएका नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पटवालले राजीनामा दिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ माघ २०७६
  • 7.8K
    Shares

उमेश पटवाल

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् । उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएका हुन् ।

पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

स्रोतकाअनुसार प्रशिक्षक पटवालले तलव समेत पाएका छैनन् । आईसीसीले राखेपमार्फत तलब दिने भनिएको थियो । र, सुरुको तीन महिनाको तलब पनि राखेपमा आएको छ । तर त्यसपछि लाग्ने करका कारण तलब दिइएको छैन ।

२०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई पुर्‍याउने लक्ष्यसहित मुख्य प्रशिक्षक बनेको भए पनि उनको प्रशिक्षणमा रहेको नेपाली टिम गत साउनमा सिंगापुरमा भएको भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा नै पराजित बनेको थियो भने चार देश मात्र सहभागी १३औं दक्षिण एसियाली खेलकुद -साग) मा बंगलादेश र श्रीलंकासँग पराजित नेपालले माल्दिभ्सलाई हराउँदै काश्य पदक जितेको थियो ।

पछिल्लो समय भने क्यान पदाधिकारी मुख्य प्रशिक्षक पटवालसँग असन्तुष्ट देखिएका थिए । त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षण सुरु गर्न समयमै नआएको भन्दै क्यानका पदाधिकारीहरुले विकल्प खोज्नेसक्ने संकेत समेत गरेका थिए ।

खेलाडीहरु पनि मनमोहन मेमोरियल कपमा व्यस्त भएकाले बन्द प्रशिक्षण समयमा सुरु भएन । पोखरामा बन्द प्रशिक्षणसँगै नेपालले मलेसियासँग तीन म्याचको मैत्रिपूर्ण सिरिज खेलेको थियो । पोखराबाट काठमाडौं आउनुअघि नै मुख्य प्रशिक्षक पटवालले आईसीसी समक्ष राजीनामा दिएको स्रोतको दाबी छ ।मुख्य प्रशिक्षक पटवालले राजीनामाको बोधार्थ नेपाल क्रिकेट संघलाई पनि पठाएको स्रोतले बताएको छ । तर क्यान पदाधिकारीहरु यसबारे बोल्न चाहेका छैनन् ।

प्रतिक्रिया