परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरूको कमजोरीका कारण टर्कीमा दुःख पाएको भन्दै माफी मागेको छ । नेपाल दम्पती अमेरिकाबाट नेपाल फर्के लगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशील लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरू नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन् । सचिव बैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरूलाई दुःखी बनाएको भन्दै नेपाल दम्पतीसँग माफी मागेका हुन् । प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए ।
राहादनी विभाग प्रमुख लम्सालले भने, ‘हामी त्यसबेला भर्खर एमआरपी बनाउने काममा लागेका थियौं, नियतबस नभए पनि कमजोरी भयो सचिवज्यू र म गएर उहाँहरूसँग कमजोरी भयो भन्यौं ।’
लम्सालले यो घटनालाई आफूहरूले एउटा गम्भीर पाठका रूपमा लिएको र अब त्यस प्रकारका गल्तीबाट कसैले पनि दुःख पाउनुपर्ने अवस्था नआउने गरी काम गर्ने बताए । एमआरपी बनेपछि पहिलाजस्तो सूचना निकाल्नु नपर्ने र सीधै इन्टरपोलमा नम्बर दिनुपर्ने भएकाले त्यस्तो गल्ती भएको लम्सालले स्वीकारे ।
परराष्ट्र मन्त्रालयको हेलचेक्र्याइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव पत्नी गायत्री टर्कीको इस्तानबुलस्थित अध्यागमनको २० घन्टा नियन्त्रणमा परेकी थिइन् । ६ महिनाअघि म्याद सकिएको पासापोर्टबाहक र परराष्ट्रको राहदानी विभागको गैरजिम्मेवारीका कारण गायत्रीले यस्तो दुःख झेल्नुपरेको हो ।
थाइल्यान्डको बंैककस्थित नेपाली दूतावासमा २०१४ जुनमा रूपन्देहीका चूडामणि शर्माले आफ्नो पासपोर्ट हराएको भन्दै काठमाडांै जान ट्राभल डकुमेन्ट माग गरेका थिए । उनलाई बैंककस्थित दूतावासले चनं एनइटी २८ टीडी एफ ०६५ नं को ट्राभल डकुमेन्ट दिएको थियो । उनको हराएको भनिएको राहादानीको म्याद सोही वर्षको जनवरी १८ मा सकिएको थियो । उनले नेपाल आएपछि आफ्नो २१४८४८८ नं को पासपोर्ट हराएको भन्दै परराष्ट्रमा निवेदन दिए ।
चूडामणिले राखेको पुरानो राहदानीलाई केरमेट गरी नयाँ नम्बरको पासपोर्ट दिइयो । उनलाई २८०६३ नं राखेर नयाँ पासपोर्ट दिइयो । गायत्रीको राहदानी नम्बर भने ००२८०६३ छ ।
‘सबै अंक नमिल्दा किन टर्की प्रहरीले यति दुःख दियो ? अमेरिका र नेपालस्थित अमेरिकी कन्सुलर शाखाले गायत्रीको नाममा त्यस्तो केही छैन भन्दा पनि किन त्यस्तो व्यवहार गरियो भन्नेमा मलाई आश्चर्य लागेको छ’, पूर्वप्रधानमन्त्री नेपालले भने ।
गायत्रीले प्रश्न गरिन्, ‘पासपोर्ट हराउँदा पत्रिकामा सूचना निकालिन्छ, प्रहरी रिपोर्ट बनाइन्छ, तर यो प्रकरणमा त्यस्तो केही नभई कसरी नयाँ नम्बर राखेर पासपोर्ट दिइयो ।’
गायत्रीले भनिन्, ‘कूटनीतिक राहदानीमा जाँदा र पूर्वप्रधानमन्त्री नेपालले समेत त्यत्रो प्रयास गर्दा आफू तनावमा पर्नुपर्यो भने सर्वसाधारणले कति सास्ती व्यहोर्छन् होला ? ‘
नेपालको विमानस्थलमा इन्टरपोलको डाटा हेर्ने प्रहरी अधिकारीको असावधानीका कारण पनि गायत्रीले दुःख पाएको सरककारी अधिकारीको दाबी छ । प्रहरीका सहप्रवक्ता ठाकुरप्रसाद ज्ञवालीले दुवै निकायबाट गल्ती भएको स्वीकार गर्दै त्यस्तो गल्ती भविष्यमा नदोहोरिन सचेत हुनुपर्ने बताए ।
इन्टरपोल आबद्ध प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष (अराइभल डेस्क) मा मात्र बस्छन् । अराइभलमा पनि जहाज आएपछि मात्र इन्टरपोलका प्रहरी सक्रिय हुने गरेको स्रोतले बताएको छ । इन्टरपोलका प्रहरीले प्रस्थान र आगमनमा यात्रुलाई प्रमाणीकरण गर्न विमानस्थल खुलेपछि बन्द नहुन्जेल बस्नुपर्नेमा आगमनका बेलामा मात्र उनीहरू सक्रिय हुन्छन् ।
टर्किस एयरलाइन्स उडेपछि मात्र गायत्रीको राहदानी नम्बर इन्टरपोलमा भएको प्रहरीले थाहा पाए । अध्यागमनसँग भएको यात्रुको तथ्यांक इन्टरपोलका प्रहरीले ढिलो गरी ‘माइन्ड डिभाइस’ (मोबाइल इन्टरपोल नेटवर्क डिभाइस) सफ्टवेयरमा हालेका थिए । राहदानी विभागको गम्भीर त्रुटि देखिए पनि विमानस्थलमा इन्टरपोलको सूची परीक्षण गर्न बसेका प्रहरीले समेत लापरबाही गर्दा गायत्रीले मानसिक तनाव र झन्झट झेल्नुपर्यो । राहदानी विभागले गलत नम्बर इन्टरपोललाई दिँदा गायत्रीले झमेला सहनुपर्यो भने उनी निर्धारित् समयमा अमेरिका पुग्न सकिनन् ।
परराष्ट्रले हराएको वा चोरिएको राहदानीको विवरण उपलब्ध गराएपछि इन्टरपोलले माइन्ड डिभाइसको स्टोलन, लस्ट ट्राभल्स डकुमेन्ट्स (एसएलटीडी) डाटाबेसमा सम्पूर्ण विवरण राख्ने गर्छ । उक्त माइन्ड डिभाइसमा विश्वभरबाट हराएका वा चोरी भएका राहदानीलगायत महत्त्वपूर्ण सामग्रीको विवरण रहन्छ ।
नेपाल प्रहरीले इन्टरपोलको डाटामा अध्यागमन अधिकारीलाई पहुँच नदिएकाले अध्यागमन अधिकृतले गायत्रीको राहदानीमा प्रस्थान अनुमति दिएका थिए ।