नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको ने.क.पा. निकट अखिल क्रान्तिकारीका तीन जना विद्यार्थी नेतालाई प्रहरीले शुक्रबार नवलपरासीको सुनवलस्थित रम्वापुरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका विद्यार्थी नेताहरुमा अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज कैलाली लम्कीचुवा नगरपालिका–१ निवासी विरेन्द्र विक, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१ चनौटा घर भएकी अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला पार्टी सदस्य एवम् नवलपुरका पूर्वविद्यार्थी संयोजक रुकुम पश्चिम सानीभेटी गाउँपालिका– ९ का नयनसिंह खड्का ‘नवीन’रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाका अनुसार, विद्यार्थीहरुको सम्मेलनमा भाग लिन सुनवलको रमवापुरमा पुगेका उनीहरु तीनै जनालाई सम्मेलनस्थल नजिकबाट शुक्रबार दिउँसो पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पु¥याइएका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अखिल क्रान्तिकारी पश्चिम नवलपरासी जिल्ला अध्यक्ष भण्डारीलाई संगठनले केही महिना अघि जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि उनी सुनवलको किर्तिपुरमा बस्दै आएकी थिईन ।
उनलाई यसअघि पनि प्रहरीले ७१ दिन अघि बासाबसहीबाट पक्राउ गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएकी थिइन् । पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि प्रहरीले भण्डारीलाई पुनः पक्राउ गरेको थियो । त्यसपछि उनलाई प्रहरीले रुपन्देही लगेर मुद्दा चलाएको थियो। सर्वोच्चको आदेशमा १० दिन पहिले भण्डारी रिहा भएकी थिइन् ।