आफ्नो उपत्यका ब्युरो इन्चार्ज माइला लामा गिरफ्तारीबिरुद्ध प्रतिरोध गर्ने उद्देश्यका साथ बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा काठमाण्डौ जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले गिरफ्तार गरेको छ।
ने.क.पा. की केन्द्रिय सदस्य समेत रहेकी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव भृकुटीलाई बिहिबार दिउँसो प्रहरीले काठमाडौंको बुढानिलकन्ठबाट पक्राउ गरेको हो । पूर्व सभाषद समेत रहेकी भृकुटी पक्राउको कारणबारे प्रहरीले केही बताएको छैन ।
यसअघि साउन ४ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा गिरफ्तारीको बिरोधमा भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको छ । सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फ़साउदै जेलमा कोच्ने र मुठभेड को नाममा हत्या गर्ने गरेकोले नेकपा आक्रोशित भएको हो । सरकारको दमन र धरपकड बिरुद्ध भोलीआव्हान गरिएको बन्द कडा हुने उक्त पार्टीले जनाएको थियो ।
बन्दको आव्हान गर्दै नेकपा प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञाप्तिमा संघर्षको कार्यक्रम अन्तर्गत जनप्रतिरोध र जनकारबाहीको समेत उल्लेख भएकोले भोलीको बन्द फरक किसिमको हुने दाबी गरिएको थियो ।