जिल्ला सेक्रेटरी सुजनलाई गिरफ्तार गरी पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले आपत्ति जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज रुपेशले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सेक्रेटरी सुजनलाई पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा भएको आन्दोलनसंग सम्बन्धित मुद्दा चलाइएकोमा आपत्ति जनाएका हुन् ।
उनले आफ्नो विज्ञप्तिमा “पार्टी कामको सिलसिलामा रहेका सेक्रेटरी सुजनलाई केपी-बादल प्रशासनका मतियारहरुले गिरफ्तार गरी पोखराको सस्तो बजारमा विगतमा भएको आन्दोलनसँग जोडेर झुट्ठा मुद्दा लगाएको”मा घोर आपत्ति र भर्त्सना गर्दै जनाउंदै अविलम्व झुट्ठा मुद्दा खारेज गरी रिहाईका लागि जोडदार माग गरेका छन्। उनले अन्यथा आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रन वाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको दोषी केपी-बादल प्रशासन नै हुने चेतावनी पनि सोही विज्ञप्तिमार्फत दिएका छन् ।
नेता रुपेशले पोखराको पृथ्वीचोकस्थित सस्तो बजारमा बिगतमा भएका आन्दोलनहरुमा आफ्नो पार्टीको संलग्नतालाई स्वीकार गर्दै सैयौं स्वरोजगार मजदूरहरुको रोजी-रोटी खोसिने गरी केही दलाल र माफियाहरुले सस्तो बजार कब्जा गर्न खोजेपछि चलेको आन्दोलनमा पार्टीले सहयोग र समर्थन गरेको सोही विज्ञप्तिमार्फत स्पस्ट पार्दै आगामी दिनहरुमा हुने यस्ता खाले आन्दोलन र संघर्षहरुमा पार्टीको सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । तर त्यही “जनताको पक्षमा गरिएको आन्दोलन र संघर्षलाई वहाना बनाएर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी झुट्ठा मुद्दा लगाईनु घोर आपत्तिजनक र निन्दनीय कार्य” भएको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीभित्र इमान्दार र कर्तव्यनिष्ट नेताको पहिचान बनाएका नेता रुपेशले नेपाली जनताको दिगो शान्ति र सम्वृद्धिको चाहनालाई विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासविादी दलाल सत्ताले वेवास्ता गर्दै देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवास्वप्न देखेर व्यापक दमनमा उत्रिएको आरोप लगाउंदै ‘वार्ताको माध्यमबाट समस्या समाधान गरिनुपर्ने’ भन्ने जनअभिमतलाई कुल्चिएर क्रान्तिका पक्षधरहरुलाई व्यापक मात्रामा गिरफ्तार गरी जेलमा कोचेर तथा मुठभेडको नाममा गोली हानि हत्या गरेर ‘विरोधी समाप्त गरिनुपर्छ’ भन्ने सोंचमा वर्तमान केपी-बादल प्रशासनअघि बढिरहेको उसले चलाएको राज्य आतंकबाट प्रष्ट हुन्छ ।” भनेका छन्।
विदेशीको इशारामा नाच्ने वर्तमान दलाल सत्ताका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी “रअ”का प्रमुख समन्त गोयललाई हालै करीब दुईघण्टा लामो भेट गरेका र सोही भेटमा रअ प्रमुख गोयलले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई दमन गर्न प्रधानमन्त्री ओलीलाई निर्देशन दिएको समाचारहरु सार्वजनिक भएको उल्लेख गर्दै विज्ञप्तिमा “त्यसपछी झन् देशमा ब्यापक धरपकड र गिरफ्तारी गरिएको आरोप लगाएका छन्। उनले आफ्नो बिज्ञप्तिमा अघि भनेका छन्, “हामी यहाँ के स्पष्ट गर्न चाहन्छौं भने देशमा चलिरहेको क्रान्ति दमनबाट समाधान हुँदैन । यसका लागि राजनीतिक बाटो अपनाईनुपर्छ ।”
जनदमनको विरोधमा उत्रिन र जनताको राजनीतिक अधिकारको रक्षार्थ भए-गरेका संघर्षहरुमा सहयोग, समर्थन र ऐक्यबद्धता जनाईदिनुहुन विज्ञप्तिमार्फत उनले न्यायप्रेमी देशभक्त, राष्ट्रवादी, उत्पीडित समुदाय, ब्यबसायीहरु, बुद्धिजिवी, पत्रकार, मानवअधिकारवादी संघ संस्था, राष्ट्रसेवक लगायत सवैमा अनुरोध पनि गरेका छन ।

यसैबीच प्राप्त जानकारी अनुसार,कास्की सेक्रेटरी लोकेन्द्र विक’सुजन’लाई प्रहरीले ज्यान मार्ने उद्योग तथा बिस्फोटक पदार्थसम्बन्धि मुद्धा लगाएको छ। प्रहरीले उनीमाथि पोखराको पृथ्वीचोकमा सस्तो बजार सञ्चालन गर्दै आएका युवराज खतिवडामाथि आक्रमण गरेको तथा सस्तो बजारमा बिस्फोट गराएको अभियोग लगाएको हो।
बझाङ केदारस्यूँ स्थायी घर भई हाल तनहुँको बन्दीपुरमा बस्ने लोकेन्द्रलाई प्रहरीले २०७४ साल वैशाख १८ गते युवराज खतिवडामाथि पोखराको नदीपुरमा भएको आक्रमणमा लोकेन्द्र संलग्न रहेको जिकिर गरेको छ। त्यतिबेला युवराजमाथि २ वटा मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरेका थिए। सो आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए।
पोखराको पृथ्वीचोकमा सस्तो बजार सञ्चालन गर्ने क्रममा त्यहाँ बस्नेहरुमाथि ज्यादति गरेको भन्दै विप्लव नेतृत्वको ने.क.पा.ले त्यो बेला उनलाई त्यसो नगर्न चेतावनी दिएको थियो। त्यही क्रममा २०७४ सालको भदौ २६ गते सस्तो बजारको गेटमा बिस्फोट भएको थियो।