१४ बर्षिया एक बालिकालाई आठ दिनदेखि होटलमा बन्धक बनाएर वलात्कार गरेको आरोपमा कास्की प्रहरीले एक शिक्षकलाई पोखराबाट पक्राउ गरेको छ।
मोरङको विराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका ७ मा बस्दै आएका मेरिगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार कनोडियालाई प्रहरीले पक्राउ गरेको हो ।
शिक्षक राकेश कुमार कनोडियाले ती बालिकालाई पोखराको डिहिकोपाटन स्थित द कन्ट्री यार्ड होटलको एक कोठामा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले बालिकाको उद्धार गरेको कास्की प्रहरीका प्रबक्ता डीएसपी राज केसीले जानकारी दिए । उनका अनुसार बालिकाले प्रयोग गर्ने मोबाईल समेत खोसेर ति शिक्षकले अभिभावकसँग सम्बन्ध टुटाईदिएका थिए । बालिकालाई अभिभावकको जिम्मा लगाईएको छ भने कनोडियालाई कानुनी कारबाही सुरु गरिएको केसीले बताए ।