प्रदेश २ का सभामुख सरोज यादवको पाकेट मारेको अभियोगमा पक्राउ परेका एक भारतीय बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका छन् ।
भारत मोतिहारी जिल्ला लिपनी–४ का १९ वर्षीय फिरोज मियाँ फरार भएका हुन् । बिहान खाना खान बाहिर निकालेको समयमा प्रहरी कार्यालयको पर्खाल नाघेर मियाँ भागेको प्रहरीले जनाएको छ ।
प्रदेश २ का सभामुख सरोज यादव साउन ३ गते सिमरौनगढको हाट बजारमा गएको बेला सभामुख यादवको पाकेट मारेको अभियोगमा उनलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो र चोरी मुद्दा दर्ता गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले मेसमा खाना खान लगेको समयमा उनी पर्खाल नाघेर फरार भएको बताए । उनी भारततिर नै भागेको आशंका प्रहरीले गरेको छ।