कुटनीतिक मर्यादा र पदिय हैसियत बिर्सेर नेपालका दुई जना प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउबाले भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयललाई सोमबार काठमाण्डौमा भेटघाट गरेका छन् भने नेपाली जनताको प्रतिधित्व गरेको सार्वभौम प्रतिनिधिसभा अन्तर्गतका संसदीय समिति सभापतिहरूलाई भारतीय दूतावास बोलाएर सोमबार विशेष जलपान कार्यक्रम गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो ।
पुष्पकमल दाहाल प्रचण्डको गोप्य भेटवार्तामा सरकार परिवर्तन , हिन्दू राष्ट्र , भारतीय स्वार्थ अनुकूल हुने गरी सीमा सम्झौतालगायतका विषयमा छलफल भएको प्राप्त जानकारीमा उल्लेख छ । दशैँ अगावै सरकार परिवर्तनको अन्तिम तयारी भइरहेको समाचार स्रोतको दाबी छ ।
रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुगेको थियो भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुग्नुभएका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिनुभएको थियो ।
देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा. अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहनु भएको बताइएको छ । रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो ।
यसैबीच प्राप्त जानकारी अनुसार, करिब १० दिनअघि नै ‘जुन २२ मा हाई टी (जलपान)का लागि आउनुहोला भनेर मोबाइलमा निम्ता पठाइएको र राजदूतको स्वकीय सचिवले पनि निम्ता सम्झाउन जुन १८ मा फेरि फोन नै गरेर कन्फर्म गरेकामध्ये प्रतिनिधिसभा अन्तर्गतका कुन कुन संसदीय समिति सभापतिहरू गएरातीको जलपानमा सहभागी भए भन्ने बारे पूर्ण बिबरण आएको छैन। प्रतिनिधिसभामा संसदीय सुनुवाइसहित एघारवटा विषयगत समिति छन्।

नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले सोमबार भारतीय दूतावासमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी तथा विपक्षी दलका महिला सांसदसँग सामूहिक छलफल गरेका छन् ।
सांसदसँग गरिएको भेटपछि पुरीले ट्वीटरमा एउटा तस्वीरसमेत सार्वजनिक गरेका छन् । जसमा सत्तारुढ नेकपाकी सांसद गंगा सत्गौवा, नविना लामा र कोमल वलीसमेत थिए । नेपाली कांग्रेसकी उपाध्यक्ष सीतादेवी यादव, सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री चित्रलेखा यादव, सांसद मीना पाण्डे पनि छलफलमा सहभागी थिए ।
उनीहरुसँग खिचिएको तस्वीरसहित राजदूत पुरीले ट्वीट गरेका छन्, ‘नेपालका केही महिला सांसदसँग राजनीतिमा महिला सशक्तीकरणको विषयमा छलफल गर्न पाउँदा हर्षित छु ।’