बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग सम्पर्क सुत्रमार्फत अनौपचारिक वार्ता गरिरहेको कोकोहोलो मच्चाइरहेको वर्तमान सरकारले तिनै सम्पर्कसुत्रको रुपमा काम गरिरहेका नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई नै गिरफ्तार गरेको छ।
जनवादी गायक समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य लामालाई गए मको मध्ये राती काठमाण्डौको काँडाघारीबाट गिरफ्तार गरेको हो।
नेता लामालाई गृहमन्त्री राम बहादुर थापाको निर्देशनमा महानगरीय अपराध महाशाखाको टोलीले गिरफ्तार गरेको बताइएको छ । विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव ने.क.पा.को दस्तावेज बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए ।
लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको प्रहरीको दाबी छ। उनीहरु दुबै जनालाई हाल महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौमा राखिएकाे छ ।
माइला लामा काठमाडौंका नख्खु, अनामनगर, सुकेधारा लगायतका बिभिन्न स्थानमा भएका बम विस्फोटमा संलग्न रहेको आरोप लगाएर मुद्दा दर्ता गर्ने तयारी रहेको प्रहरीको भनाई छ ।
काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव नेतृत्वको ने.क.पा.को एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।
लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।
माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द (विप्लव)को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।