दिउँसै मादक पदार्थ (मापसे) गरेर आएका ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा न. ८ का वडाध्यक्ष अजय लुइटेलले कार्यालयमा नै काम गरिरहेका वडा नम्बर ७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका छन् भने गाउँपालिकाका कर्मचारीहरुलाई कुटपिट गर्ने धम्की दिएका छन् ।
वडाध्यक्ष थापाले कार्यालयमा काम गरिरहेको बखत आफुलाई वडाध्यक्ष लुइटेलले कुटपिट गरेको भन्दै लुइटेलबिरुद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएका छन् । गाउँपालिका कार्यालयमा काम गरिरहेको अवस्थामा ‘तँलाई यहाँ बस्ने अधिकार छैन’ भन्दै एक्कासी कुटपिट गरेको उजुरीमा उल्लेख छ। थापाको खुट्टामा चोट लागेको छ।
आफूलाई धेरै पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते कार्यालयमै आक्रमण भएको थापाको भनाइ छ। अध्यक्ष थापाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उजुरी दर्ता गरेका छन्। उक्त घटनापछि वडाध्यक्ष लुइटेल भने फरार छन्। उनको मोबाइल अफ गरिएको छ।
स्थानीयले अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुंगानालाई समेत कुटपिट गर्ने धम्की दिएको अडियो रेर्कड प्रहरीमा बुझाएका छन्।
अडियोमा लुइटेलले थापालाई कुटेको र प्रमुख प्रशासकीय अधिकृत भगत र सुब्बा ढुंगानालाई आफूले मागेको चेक नकाटेको भन्दै ठिक पार्छु भनेको सुन्न सकिन्छ।
अडियोसहित उजुरी परेपछि लुइटेलविरुद्ध आवस्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी पुष्पराज मल्लले जानकारी दिए। घटनाको अनुसन्धान सुरु भएको मल्लको भनाइ छ।