आफ्नो आयु बारे फेसबुक स्टाटस लेखेका रामसिंहको चार दिनपछि बिष्फोटमा परि मृत्यु, शहीद घोषित

आफ्नो आयु बारे फेसबुक स्टाटस लेखेका रामसिंहको चार दिनपछि बिष्फोटमा परि मृत्यु, शहीद घोषित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ साउन २०७६
  • 8.7K
    Shares

राम सिंहले आफ्नो फेसबुक वालमा लेखेको अन्तिम स्टाटस

‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’

बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउने बझाङ जयपृथ्वी नगरपालिका–१ कैलाशपिमी घर भएका  २७ वर्षीय राम सिंहले आफ्नो फेसबुक वालमा लेखेको अन्तिम स्टाटस हो यो ।

नभन्दै फेसबुक स्टाटस लेखेको चार दिनपछि उनको आयु सकियो । आफ्नो जिन्दगीको आयु थाहा नभएको बारे असार २९ गते फेसबुक वालमा लेखेको चार दिनपछि आफंैले बोकेको बम पड्किएर सिंहले सदाका लागि संसार छोडे ।

वर्गीय मुक्तिका लागि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेका रामबहादुर सिंह ‘राजेश’ले पार्टी कामको शिलशिलामा आत्म सुरक्षाकालागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत प्राप्त गर्नु भयो । वहांको उच्च सहादतलाई सम्मान गर्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली व्युरो इन्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति प्रकाशित गरेर उनलाई एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गरेको  जानकारी दिएका छन ।व्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमा भनेका छन्, ‘हिजो साँझ धनगढी उप–महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्म सुरक्षाकालागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सहादत प्राप्त गर्नु भएका रामबहादुर सिंह कमरेड ‘राजेश’लाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं । विस्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकहरुको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभुति प्रकट गर्दछौं । घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रतिवद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमा घाइतेहरुको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछौं ।’

विज्ञप्तिको अन्त्यमा निर्माणले भनेका छन्, ‘यस घटनाले सर्वसाधरण नागरिकहरुमा पर्न गएको असहजताप्रति दुःख व्यक्त गर्दछौं । यो दुःखद घटनाको पछाडिको मुलकारण दलालपुँजीवादी संसदीय व्यवस्था भएकाले यसको सम्पूर्ण जिम्मा केपी ओलीको सामाजिक फासिवाद सरकारले दिनुपर्दछ ।”

सिंहको शव पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । पोस्टमार्टमपछि धनगढीमा रहेका आफन्तले धनगढीमै दाहसंस्कार गर्ने तयारी गरेको भतिजा उकेश सिंहले जानकारी दिए ।

राम सिंह बारे ने.क.पा. सेती-महाकाली ब्युरोले जारी गरेको बिज्ञप्ति

प्रतिक्रिया