गण्डकी प्रदेशको सवै भन्दा ठूलो सरकारी स्वास्थ्य संस्था गण्डकी अस्पताल पोखरामा यतिवेला उडुस आतङ् छ । अस्पतालको प्रसुति वार्ड लगायत अन्य वार्डहरुमा उडुस आतङ्क भएपछि विरामी र तिनका कुरुवाहरु उडुसले टोकेर हैरान परेका हुन् ।
अस्पतालमा उडुस सँगै उपियाँ, साङ्ला र लामखुट्टेको समेत विगविगी रहेको विरामी र तिनका कुरुवाहरुले गुनासो गरेका छन् ।
गर्मी चढ्ने वित्तिक्कै अस्पतालमा उडुस जन्य किराको प्रकोप बढे पनि अस्पताल प्रशासनले समयमा समस्या प्रति चासो नराखेको उनीहरुको भनाइ छ ।
अस्पतालको शौचालय र आसपासमा पनि व्यापक फोहोर भएपछि जताततै यतिवेला दुगन्धित छ । अस्पतालको भएको वेथितिको वारेमा अस्पतालमा पटक पटक जानकारी गराउँदा समेत अस्पताल प्रशासनले वेवास्ता गरेको सामाजिक अगुवा भवसागर वरालले वताए ।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले अस्पतालमा विगत देखि नै उडुस जन्य किराहरु रहेको वताउँदै वुधवार विषादी छर्किएको वताए । हामी सँग पुराना खाटहरु छन् तिनमा उडुस वस्दो रहेछ उनले भने । केही दिनमा उडुस उपियाजन्य सवै किराहरु मरिसक्ने उनले दावी गरेका छन् । अस्पतालले पुराना कवाडी सामान टेण्डरको प्रक्रियामा लैजान नसक्दा समस्या आएको उनले वताए ।
कूल ५ सय वेड स्वीकृति पाएको गण्डकी अस्पताल अर्थात् गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले ३ सय ८० वेड सञ्चालनमा आएका छन् । अस्पतालमा ६ सय १ जना कर्मचारीको दरवन्दी रहेको छ ।
जसमध्ये १ सय सरकारी डाक्टर,४५ जना विकास समिति अन्तर्गतका डाक्टर गरी १ सय ४५ जना डाक्टर कार्यरत रहेका छन् । त्यसैगरी १ सय जना सरकारी नर्स र ७० जना विकास समितिले थप गरेका नर्स गरी नर्सको संख्या १ सय ७० जना रहेको छ । अस्पतालमा अन्य सवै अरु कर्मचारी रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दैनिक १४ सय वढी विरामी आउने गरेका छन् ।