कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार

कोट र टाई नलगाएको भन्दै कुटिएका शिक्षक न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग हारगुहार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३१ असार २०७६
  • 6K
    Shares

शिक्षक् अतीत अधिकारी

कोट र टाई नलगाएको भन्दै प्रिन्सिपल रमेशकुमार आलेबाट कुटिएका भोजपुर सदरमुकामस्थित सगरमाथा अंग्रेजी माध्यमिक विद्यालयका शिक्षक अतित अधिकारी न्याय माग्दै प्रहरी, प्रशासन, पत्रकारसंग गुहार मागेर सदरमुकाम धाइरहेका छन् ।

आइतबार विहान खाना खाएर विद्यालय जाने तयारी गर्दै गर्दा प्रिन्सिपल रमेशकुमार आलेले बोलाएर टाइ र कोट नलगाएको निहुँमा कुटपिट गरेको पीडित शिक्षक अतित अधिकारीले बताए। पिडित शिक्षक अतित अधिकारीका अनुसार, खाना खाएर सर्ट र पेन्ट लाउँदै गर्दा सहयोगीमार्फत बोलाइएका शिक्षक अतित अधिकारी प्रिन्सिपलको चेम्बरमा पुग्नासाथ “खलासीजस्तो भएर आउने?” प्रिनिसिपल आलेले गाली गरेका थिए । “म कसैको गाली खान आको हैन मलाई खलासी नभन्नुहोस्” भन्दा आफुलाई प्रिन्सिपल आलेले एक्कासी वाहिर प्यासेजमा ल्याएर हातले गालामा र ढाडमा कुटपिट गरेको पिडित शिक्षक अधिकारीले जानकारी दिए

ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँपालिका वडा नं. १ घर भएका २८ वर्षीय अधिकारी पाँच महिनादेखि सो विद्यालयमा कक्षा ७ देखि १० सम्म अनिवार्य गणित र ऐच्छिक गणित विषय पढाउँथे। आफ्नो साथमा विद्यालयको नियुक्ति पत्र पनि नभएको अधिकारीले बताए। आफ्नो एक महिनाको पारिश्रमिक ३५ हजार पनि रोक्का गरिदिएको र विदा गरेको उनको भनाइ छ।

अधिकारी अहिले न्यायका लागि प्रहरी प्रशासन, पत्रकार गुहारिरहेका छन्। उनले शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जिफन्टलाई वोधार्थमार्फत लिखित निवेदन दिएका छन्। भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले आफूकहाँ कारवाहीको माग गर्दै निवेदन लिएर आएकाले शिक्षा समन्वय इकाईमा समन्वय गरि समाधान गरिदिन लेखि पठाएको बताए।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रुद्र राईले दुवै पक्षलाई बोलाएर छलफल गरि समस्याको समाधान खोजिने बताए। नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष तिर्थकुमार राईले एउटा श्रमजिवीमाथि भएको कुटपिटमाथि आपत्ति जनाएका छन्। उनले घटनाको यथार्थ खोजी सम्बन्धित निकायले समाधानको बाटो खोज्नुपर्ने औंल्याए।

यता शिक्षक अधिकारी माथि कुटपिट गरेको आरोप लागेका रमेशकुमार आलेले भने शिक्षकको व्यवहार नै अस्वभाविक भएकोले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको बताए। विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र उनको भनाई छ। आफूमाथि कुटपिटको आरोप निराधार भएको आलेले दाबी गरे। निजको तलबको चेक समेत दिन लागेको अवस्थामा ननिकालेको आलेको भनाई छ।

प्रतिक्रिया