सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वार्टर सिरहामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सियाराम चौधरीले जवान विजयकुमार यादवलाई निर्घात कुटपिट गरेका छन् । सो कुटपिटको घटनालाई लुकाउने प्रयास विफल भएपछी उनलाई अस्पतालमा नै छाडेर दुई जना सशस्त्र प्रहरी कर्मचारी फर्किएका छन् ।
प्राप्त समाचार अनुसार,शस्त्र प्रहरी निरीक्षक चौधरीले त्यहीँ गणमा कार्यरत सप्तरीको शम्भुनाथ नगरपालिका–१ घर भएका जवान ३२ वर्षीय यादवमाथि गत बुधबार कुटपिट गरेका थिए । निरीक्षक चौधरीले बिहान ७ बजे १५ मिनेटको समयमा आफूमाथि बुट र मुक्का प्रहार गरेको घाइते प्रहरी जवान यादवले जानकारी दिए । ‘टाउको जोगाउन थाल्दा ढाडमा कुटियो,’ उनले भने, ‘त्यसपछि बेहोस भएछु ।’ एक जना जवानलाई बोलाएर ल्याउन लगाएर आफूमाथि कार्यालयकै गेटमा सबैका अगाडि कुटपिट गरिएको यादवको आरोप छ ।
कुटपिटपछी गम्भीर घाइते बनेका प्रहरी जवान यादबलाई उपचारका लागि सशस्त्रका असई कामेश्वर यादव र जवान पेशल थापाले जिम्मा लिएर विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्याइएको थियो । त्यस कुटपिटको घटनालाई लुकाउन दबाब दिएका सई कामेश्वर यादव र जवान पेशल थापाले घटना मिडियामा सार्वजनिक हुने भएपछी घाइते जवान यादबलाई अस्पतालमा नै छाडेर कार्यालय फर्केका छन् । अहिले घाइते सशस्त्र प्रहरी जवान यादवलाई कुरेर अस्पतालमा बुवा सुदिनलाल यादव र भान्जा अर्जुनकुमार यादव बसेका छन् ।
अस्पतालका चिकित्सक डा. मनोजकुमार यादवले घाइते सशस्त्रका जवान यादवको टाउको र छात्तीमा चोट रहेको तथा कानको जालीमा पनि केही समस्या देखिएको बताए ।
पांच वर्ष अघि बिबाह भएकी श्रीमती सोनुकुमारीसँगको सम्बन्ध विच्छेदको मुद्दा सप्तरी जिल्ला अदालतमा चलिरहेका बेला आफूमाथि कुटपिट गरिएको यादवले बताए । यादव दम्पतिका ३ वर्षीय छोरी पनि छन् । सशस्त्र प्रहरी निरीक्षक सियाराम चौधरीले भने आफूले यादवमाथि कुटपिट गरेको अस्वीकार गरेका छन् ।