काठमाण्डौस्थित भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दबाब दिएपछि मन्त्रिपरिषद् बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय फिर्ता लिएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार विभागमार्फत भन्सार नाकामा भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरिसकिएको छ ।
गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।
कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ ।