विवादित व्यक्ति दीपक मनाङे उर्फ राजीव गुरुङलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा भित्र्याएको प्रति सत्तारुढ दलका नेताहरुले आपत्ति जनाएका छन्।
नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले कस्ता व्यक्तिलाई पार्टीमा प्रवेश गराइएको बारे विचार गर्न नेतृत्वलाई सुझाएका छन्। भट्टराईले ट्विटरमा “भित्र्याइएका व्यक्तिका कारण त्यसले दिएको परिणाम बारे ख्याल गर्न सुझाएका हुन्। उनी लेख्छन्,‘राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता कस्ता ल्यायौ? कस्ता कस्ता ल्याउंदै छौ ? परिणाम् के भैरहेको छ ? राम्ररी विचार गरौं है!”
राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ? कस्ता कस्ता ल्यायौ? कस्ता कस्ता ल्याउंदै छौ ? परिणाम् के भैरहेको छ ? राम्ररी बिचार गरौ है !
— Yogesh bhattarai (@yogesbhattarai) July 3, 2019
सत्तारुढ दल नेकपाकै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा आफ्नो पार्टीभित्र “अनगिन्ति दिपक मनाङेहरु रहेको” जनाउंदै मनाङेलाई पार्टीमा भित्र्याएको प्रति कटाक्ष गारेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा पार्टी भित्र अर्को मनाङे थपिएको प्रति कोकोहोलो नगर्न सुझाब दिंदै अघि के भनेका छन् भने, “‘एउटा थपिएको मात्र हो। जाबो एउटा मनाङे थपिदा के को कोकोहोलो हो कुन्नी?’
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले कुनै बेला गुण्डा नाइके भनेर चिनिने दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङलाई पोखरारामा आयोजित एक कार्यक्रमका बीच बिहीबार पार्टी प्रवेश गराएका थिए ।
मनाङको प्रदेशसभा ख बाट निर्वाचित दीपक मनाङे उर्फ राजीव गुरुङको पार्टी प्रवेश संगै गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपालाई दुईतिहाई बहुमत प्राप्त भएको छ ।
पार्टी प्रदेश इन्चार्ज समेत रहेका पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङको पार्टी प्रवेशसँगै गण्डकी प्रदेशमा नेकपालाई बहुमत मिलेकोमा खुसी व्यक्त गरे । उनले सत्तारुढ नेकपामा दीपक मनाङेलाई नभई स्वतन्त्र सांसद राजीव गुरुङलाई पार्टी प्रवेश गराएको जिकिर गरे ।
गत चुनावमा नेकपा एमाले र माओवादी केन्द्र बिचको तालमेलमा मनाङ प्रदेश सभा ख तत्कालीन एमालेको भागमा परेको थियो । अन्तिममा आएर उम्मेदवारी फिर्ता लिँदै एमालेले राजीवलाई नै समर्थन गरेपछि उनी स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए । तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण उनले सपथ लिन पाएनन् । उनी ८ महिना जेल बसे । पछिल्लो मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा दिएको छ । त्यही सुविधा प्रयोग गर्दै राजीव थुनामुक्त भएपछि गत मंसिर १२ गते बिहीबार प्रदेश सभा सचिवालयमा सपथको लागि निवेदन दिएका थिए । त्यसको एक महिनापछि बल्ल सभामुख नेत्रनाथ अधिकारीले गुरुङले उनलाई सपथ खुवाएका थिए ।
राजीवसँगै बिहीबार विप्लव नेतृत्व ने.क.पा.का कास्की सदस्य तथा माछापुच्छ्रे गाउँपालिका इन्चार्ज पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् । पार्टी समर्थित अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य एबम कास्की जिल्ला संयोजक समेत रहेका कार्की पार्टीको नीति बिपरित विभिन्न स्थानमा विभिन्न व्यक्तिहरुबाट रकम असुली गरी सुकुम्बासी बस्ती बसाल्ने काममा संलग्न रहेको उजुरी पार्टीमा परेको र त्यस बारेमा आबस्यक छानबिन चलिरहेको ने.क.पा. कास्की स्रोतले जानकारी दिएको छ ।