संखुवासभामा सर्च अपरेशनका नाममा गाउँले आतंकित, ने.क.पा.का दुई कार्यकर्ता अझै सम्पर्कबिहीन (बिज्ञप्तिसहित)

संखुवासभामा सर्च अपरेशनका नाममा गाउँले आतंकित, ने.क.पा.का दुई कार्यकर्ता अझै सम्पर्कबिहीन (बिज्ञप्तिसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ असार २०७६
  • 9.8K
    Shares

संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१ होयङ्मामा भएको यहि असार १६ गते भनिएको गोली हानाहानपछि बेपत्ता भएका तीन कार्यकर्तमध्ये दुई कार्यकर्ता अझै सम्पर्कबिहीन रहेको र अर्का एक जना पार्टी सम्पर्कमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पूर्वी केन्द्रीय कमाण्डले जनाएको छ ।

ने.क.पा. पूर्वी कमाण्डका इन्चार्ज विषमले बुधबार एक  प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् । सो विज्ञप्तिमा कुन पार्टी कार्यकर्ता पार्टीको सम्पर्क आएका हुन् र को को कार्यकर्ता पार्टी सम्पर्कमा नआएको हो भन्ने बारेमा खुलाइएको छैन । तर आफ्ना कार्यकर्ता सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खवर  बाहिर आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस विज्ञप्तिमा ‘गएको १६ गते सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ मा संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि केपी–बादल गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाई दोहोरो भिडन्तको हल्ला पिटिएको’ उल्लेख छ ।

विज्ञप्तिमा कमाण्ड इन्चार्ज विषमले भनेका छन्, ‘अहिलेसम्म प्रहरी, सेनामाथि सशस्त्र आक्रमण नगर्ने पार्टीको नीतिलाई कहि पनि पार्टीले उलङ्घन गरेको छैन तर सरकारले निहत्था नेता र कार्यकर्तामाथि दोहोरो भिडन्तको नाममा गिरफ्तारपछि निशंस हत्या गर्ने, गाउँ अप्रेशन गर्ने, घरहरु खानतलासी गर्ने, धरपकड, थुनछेक, झुट्ठाभुद्दामा महिनौ थुनामा यातना दिने जस्ता काममा राज्य नै लागिपरेको छ ।’

गएको जेष्ठ ८ गते भोजपुरमा तीर्थ घिमिरेको र अस्ति भर्खरै आषाढ ५ गते सर्लाही जिल्लाको लालबन्दीमा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको  गिरफ्तारीपछि कायरतापूर्ण हत्या गरिएको उल्लेख गर्दै यस्ता कायरतापूर्ण हत्यामा ‘बिदेशी शक्तिकेन्द्रहरुको समेत हात रहेको पुष्टि भएको” विज्ञप्तिमा जनाइएको  छ ।

अहिले पनि दोहोरो भिडन्तको नाममा हेलिकोप्टरबाट उतारिएका सशस्त्र तथा नेपाल प्रहरीका  कमाण्डो फोर्सहरुले सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ का गाउँहरु घेरा हालेर आतंक मचाइरहेको तथा सिन्धुली मरिनबेल्ट र दक्षिण सिन्धुलीको चुरे क्षेत्रमा सर्च अप्रेशन चलाइरहेको विज्ञप्तिमार्फत जानकारी दिंदै देशैभरी सरकारले चलाएको  क्रुर फासिवादी दमन, राज्यआतंक र सामाजिक फासिवादी दमनको घोर भर्त्सना गरिएको छ । साथै सोही विज्ञप्तिमार्फत राज्यद्वारा भोजपुर, सिन्धुली र सर्लाहीमा चलाइएको  फासिवादी दमन तुरुन्त बन्द गरी पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि माग गरिएको छ।

ने.क.पा.को पूर्वी केन्द्रीय कमाण्ड अन्तर्गत गिरफ्तार गरी जेल र हिरासतमा यातना भोगीरहेका करीब तीन दर्जन नेता तथा कार्यकर्ताहरुलाई बिना सर्त रिहाई गर्न र दोहोरो भिडन्तको नाममा हत्या गरिएका हाम्रा पार्टीका नेता कुमार पौडेल र तीर्थ घिमिरेको परिवारलाई सरकारले उचित क्षतिपूर्ति सहित राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै सोही बिज्ञप्तिमार्फत हत्याराहरुलाई सख्त कार्वाही गर्न पनि आग्रह गरेइको छ  ।

पुर्बी कमाण्डको संखुवासभा घटना बारे प्रेस बिज्ञप्ति
ने.क.पा. पुर्बी कमाण्डको संखुवासभा घटना बारे प्रेस बिज्ञप्ति

प्रतिक्रिया